१४ श्रावण २०८३, बिहिबार | Fri Jul 31 2026

सुनसरी घटनापछि झापा ‘हाइअलर्ट’मा : मुस्लिम बस्तीमै पुगेर प्रजिअको सद्भाव अभियान



बिर्तामोड-सुनसरीको देवानगञ्जमा भएको साम्प्रदायिक तनावको घटनापछि झापा प्रशासनले जिल्लाभर सामाजिक सद्भाव कायम राख्न सक्रियता बढाएको छ । सम्भावित जोखिमलाई मध्यनजर गर्दै जिल्ला प्रशासन कार्यालयले सुरक्षा सतर्कतासँगै समुदायस्तरमा संवादलाई तीव्र बनाएको छ ।

प्रमुख जिल्ला अधिकारी शिवराम गेलालले झापाली सञ्चारकर्मीसँगको भेटमा कचनकवल गाउँपालिका र झापा गाउँपालिकाका मुस्लिम बस्तीमा पुगेर स्थानीय अगुवा, धार्मिक गुरु तथा समुदायका प्रतिनिधिसँग प्रत्यक्ष छलफल गरिएको जानकारी दिए । उनका अनुसार कुनै पनि अफवाह वा उत्तेजनाले सामाजिक सद्भावमा असर नपारोस् भन्ने उद्देश्यले तल्लो तहसम्म सहजीकरण अभियान सञ्चालन गरिएको हो ।

प्रजिअ गेलालले जिल्लाका १५ वटै स्थानीय तहका प्रमुखहरूसँग पनि छलफल सम्पन्न भइसकेको जानकारी दिँदै वडा र समुदायस्तरसम्म सद्भाव बैठक आयोजना गर्न आग्रह गरिएको बताए । उनका अनुसार स्थानीय तह, सुरक्षा निकाय र समुदायबीच समन्वय बढाएर सम्भावित जोखिम न्यूनीकरणमा प्रशासन केन्द्रित छ ।

उनले झापाभरका सुरक्षा निकायलाई उच्च सतर्कता (हाइअलर्ट) मा राखिएको जानकारी दिँदै सामाजिक सञ्जालमा फैलाइने अपुष्ट र भ्रामक सूचनाको पछि नलाग्न सर्वसाधारणलाई आग्रह गरे । यस्ता गलत सूचना समयमै खण्डन गर्न सञ्चारमाध्यमको भूमिका महत्वपूर्ण रहने भन्दै सञ्चारकर्मीलाई तथ्यमा आधारित सूचना सम्प्रेषण गर्न अनुरोध गरे ।

प्रजिअ गेलालका अनुसार विभिन्न धार्मिक समुदायका गुरुहरूले पनि सामाजिक सद्भाव, आपसी विश्वास र शान्ति कायम राख्न पूर्ण सहयोग गर्ने प्रतिबद्धता व्यक्त गरेका छन् । प्रशासनले संवाद, समन्वय र संयममार्फत जिल्लाको सामाजिक सद्भाव जोगाउने प्रयासलाई निरन्तरता दिने जनाएको छ ।

प्रकाशित मिति : १४ श्रावण २०८३, बिहिबार ००:००  ११ : ०५ बजे