१३ श्रावण २०८३, बुधबार | Wed Jul 29 2026

विद्यालयमार्फत लागुऔषधविरुद्ध अभियान



बिर्तामोड– झापामा बढ्दो लागुऔषध दुर्व्यसन नियन्त्रणका लागि ‘लागुऔषधविरुद्ध झापा अभियान’ अन्तर्गत बिर्तामोडका सामुदायिक तथा संस्थागत विद्यालयलाई सचेतनामूलक पोस्टर वितरण गरिएको छ ।

बिर्तामोड नगरपालिकाको आयोजनामा तथा जिल्ला प्रहरी कार्यालय झापाको सहकार्यमा बुधबार आयोजित कार्यक्रममा झापा प्रहरी प्रमुख प्रहरी उपरीक्षक वसुन्धरा खड्काले नगर प्रमुख पवित्रा महतारा प्रसाईलाई पोस्टर हस्तान्तरण गर्नुभएको हो ।

त्यसपछि विद्यालयका प्रधानाध्यापक तथा शिक्षकलाई पोस्टर वितरण गरिएको छ । कार्यक्रममा नगर प्रमुख प्रसाईले लागुऔषधमुक्त समाज निर्माणका लागि सबै स्थानीय तह, जनप्रतिनिधि, शिक्षक र सामाजिक संघसंस्थाको साझा प्रयास आवश्यक रहेको बताउनुभयो ।

प्रहरी प्रमुख खड्काले जिल्लाभर ७१ प्रहरी युनिटका फोकल पर्सनलाई तालिम दिइसकिएको र अब शिक्षकलाई प्रशिक्षण तथा युवामाझ फुटबल प्रतियोगितामार्फत अभियान विस्तार गरिने जानकारी दिनुभयो ।

प्रहरीका अनुसार गत असारमा सञ्चालन गरिएको ‘स्विप अपरेसन’मा ६ सयभन्दा बढी लागुऔषध दुर्व्यसनी नियन्त्रणमा परेका थिए । हाल झापाका कारागारमा रहेका ९३० कैदीबन्दीमध्ये करिब ८० प्रतिशत लागुऔषधसम्बन्धी मुद्दाका अभियुक्त रहेको प्रहरीले जनाएको छ ।

कार्यक्रममा प्रमुख प्रशासकीय अधिकृत सागर मिश्र, शिक्षा शाखा प्रमुख तिलचन भण्डारी र वरिष्ठ योजना अधिकृत जय तिम्सिनाले विद्यालयलाई अभियानको केन्द्र बनाएर सबै पक्षको सहकार्यमा लागुऔषध नियन्त्रण अभियान सफल बनाउनुपर्नेमा जोड दिनुभयो ।

प्रकाशित मिति : १३ श्रावण २०८३, बुधबार ००:००  ८ : ३७ बजे