झापा-नेपाल कम्युनिष्ट पार्टी एमाले र नेपाल कम्युनिष्ट पार्टीबिच सातै प्रदेशमा सत्ता सहकार्य गर्दै संयुक्त सरकार गठन गर्ने सहमति भएको छ । शनिबार सार्वजनिक भएको सहमति पत्रमा प्रदेश सरकारको नेतृत्व बाँडफाँटदेखि बाँकी दुई प्रदेशमा अन्य दलसँगको परामर्शमार्फत सरकार गठन गर्ने समझदारी गरिएको छ ।
एमाले अध्यक्ष केपी शर्मा ओली र नेकपा अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले हस्ताक्षर गरेको सहमति पत्रमा विगतमा प्रदेशसभामा बजेट निर्माणका क्रममा देखिएका असमझदारी, बजेट विभेद तथा राजनीतिक प्रतिस्पर्धाबाट सिर्जित समस्याको अन्त्य गर्दै राजनीतिक स्थिरता, सुशासन, समृद्धि र तीव्र विकासलाई प्राथमिकता दिने उल्लेख गरिएको छ ।
सहमतिअनुसार कोशी, बागमती र लुम्बिनी प्रदेशमा सरकारको नेतृत्व एमालेले गर्नेछ। कर्णाली र सुदूरपश्चिम प्रदेशको नेतृत्व भने माओवादीले गर्ने सहमति भएको छ ।
यस्तै, मधेश र गण्डकी प्रदेशमा सरकार गठनका लागि प्रदेशसभामा प्रतिनिधित्व गर्ने अन्य राजनीतिक दलसँग समेत परामर्श गरी सरकारको नेतृत्व र सहभागिताको स्वरूप तय गर्ने उल्लेख गरिएको छ ।
सहमति पत्रमा सातै प्रदेशमा सहकार्य गर्दै संयुक्त सरकार गठन गर्ने स्पष्ट प्रतिबद्धता जनाइएको छ । यसलाई केन्द्रको सत्ता समीकरणसँगै प्रदेश सरकारहरूको नयाँ शक्ति सन्तुलनका रूपमा हेरिएको छ ।


















