बिर्तामोड– बिर्तामोड साना शहरी खानेपानी तथा सरसफाई उपभोक्ता संस्थाले तीन महिनाभन्दा बढी समयदेखि खानेपानीको महसुल नतिर्ने उपभोक्ताको धारा काट्ने अभियान सुरु गरेको छ । साउन लागेसँगै संस्थाले बक्यौता उठाउने अभियानलाई कडाइका साथ अघि बढाएको हो ।
संस्थाका अनुसार पटक-पटक ताकेता गर्दा पनि महसुल नतिर्ने उपभोक्ताको धारा काट्न थालिएको छ । अब बक्यौता नतिर्ने कुनै पनि उपभोक्तालाई छुट नदिइने संस्थाले जनाएको छ । केही उपभोक्ताले डेढ लाख रुपैयाँसम्म महसुल तिर्न बाँकी राखेका छन् । १० हजारदेखि ५० हजार रुपैयाँसम्म बक्यौता भएका उपभोक्ताको संख्या पनि उल्लेख्य छ ।
साउन १ गतेदेखि दैनिक २० देखि ५० वटा धारा काट्ने काम भइरहेको संस्थाले जनाएको छ । धारा काटिएपछि दैनिक करिब २० जना उपभोक्ताले बक्यौता महसुल बुझाएर पुनः धारा जडान गराइरहेका छन् ।
संस्थामा हाल १० हजार ९ सय उपभोक्ता आबद्ध छन् । ५० देखि ५५ महिनासम्म महसुल नतिर्ने उपभोक्ताको विवरण तयार गरी धारा काट्ने अभियान सञ्चालन गरिएको संस्थाले जनाएको छ । बिर्तामोडका केही प्रतिष्ठित व्यापारी तथा विभिन्न संघसंस्थाले समेत लामो समयदेखि महसुल नतिरेको पाइएको छ ।
संस्थाले बक्यौता रहेका मठमन्दिर, वडा कार्यालय, सरकारी कार्यालय, अस्पताल तथा अन्य व्यापारिक प्रतिष्ठानको धारा पनि आवश्यक परे काटिने जनाएको छ ।
बिर्तामोड साना शहरी खानेपानी तथा सरसफाई उपभोक्ता संस्थाले बिर्तामोड नगरपालिकाका सबै वडा तथा अर्जुनधारा नगरपालिकाको वडा नं. ५, ६ र १० मा खानेपानी सेवा उपलब्ध गराउँदै आएको छ ।


















