३१ असार २०८३, बुधबार | Wed Jul 15 2026

प्रदेशमा एमाले सँगको सहकार्य अन्त्य गर्ने तयारी



काठमाडौँ-नेपाली कांग्रेसले सातै प्रदेश सरकारमा नेकपा एमाले सँगको सत्ता सहकार्य अन्त्य गर्ने तयारी गरेको छ । प्रदेश सरकारमा एमालेको कार्यशैलीप्रति असन्तुष्टि जनाउँदै कांग्रेसले आफ्ना मन्त्रीलाई फिर्ता बोलाउने निष्कर्षमा पुगेको पार्टी स्रोतले जनाएको छ ।

कांग्रेसका एक पदाधिकारीका अनुसार शीर्ष तहमा पटक–पटक भएको छलफलबाट सहकार्यलाई निरन्तरता दिने सहमति जुट्न नसकेपछि प्रदेश सरकारबाट बाहिरिने निर्णयतर्फ पार्टी अघि बढेको हो । ‘सातै प्रदेश सरकारमा रहेका कांग्रेसका मन्त्रीहरूलाई फिर्ता बोलाउने तयारी छ,’ ती पदाधिकारीले भने ।

बुधबार कर्णाली प्रदेश सरकारबाट कांग्रेसका मन्त्रीहरूले राजीनामा दिएका छन् । त्यस्तै सुदूरपश्चिम प्रदेशमा कांग्रेस नेतृत्वको सरकारले एमालेका मन्त्रीहरूलाई बर्खास्त गरेको छ । कर्णालीमा भने एमाले नेतृत्वको सरकार छ ।

कांग्रेस स्रोतका अनुसार बाँकी प्रदेशमा पनि एमालेसँगको सत्ता साझेदारी अन्त्य गर्ने तयारी भइरहेको छ । यद्यपि, नेकपासँग नयाँ सत्ता समीकरण बन्ने सम्भावना रहे त्यसबारे पनि अनौपचारिक छलफल भइरहेको बताइएको छ ।

स्रोतका अनुसार नयाँ राजनीतिक समीकरण नबने कांग्रेस सबै प्रदेशमा प्रतिपक्षमा बस्ने विकल्पसहित आन्तरिक छलफलमा जुटेको छ । यस विषयमा कांग्रेसले भने औपचारिक निर्णय सार्वजनिक गरिसकेको छैन ।

प्रकाशित मिति : ३१ असार २०८३, बुधबार ००:००  ४ : २४ बजे