बिर्तामोड-बिर्तामोड नगरपालिकाले पशुपालन व्यवसायलाई थप सहज बनाउन किसानलाई कृषि सामग्री वितरण गरेको छ । बुधवार आयोजित कार्यक्रममा नगर प्रमुख पवित्रा महतारा प्रसाई र उपप्रमुख नगेन्द्रप्रसाद संग्रौलाले कृषकलाई चापकटर र काउम्याट हस्तान्तरण गर्नु भएको हो ।
नगरपालिकाको पशुपन्छी तथा मत्स्य विकास शाखाअन्तर्गत ५० प्रतिशत लागत साझेदारी कार्यक्रममार्फत ३० थान कुटी काट्ने चापकटर र ६५ थान काउम्याट वितरण गरिएको छ ।
ती सामग्री वितरणका लागि नगरपालिकाले पुस ९ गते सार्वजनिक सूचना जारी गरेको थियो । सूचनाअनुसार चापकटरका लागि २५० वटा र काउम्याटका लागि ९२ वटा निवेदन प्राप्त भएका थिए । पशुपन्छी तथा मत्स्य विकास शाखा अधिकृत सावित्रा दाहालका अनुसार प्राप्त निवेदनमा स्थलगत अनुगमनका आधारमा कृषक छनोट गरिएको हो ।
कार्यक्रममा बोल्दै नगर प्रमुख प्रसाईले नगरपालिकाबाट सहुलियतमा प्राप्त सामग्रीको सदुपयोग गरी उत्पादन वृद्धि तथा व्यवसायिक पशुपालनमा जोड दिन कृषकलाई आग्रह गर्नुभयो ।
बिर्तामोड नगरपालिकाले कृषकको आयआर्जन वृद्धि र कृषि क्षेत्रको आधुनिकीकरणका लागि यस्ता कार्यक्रम हरेक वर्ष सञ्चालन गर्दै आएको छ ।

















