बिर्तामोड-झापाको दमक नगरपालिका-८ की २१ वर्षीया रोमा भनिने रमा तिवारीको हत्या आरोपमा प्रहरीले एक भारतीय नागरिकलाई पक्राउ गरेको छ । हत्या भएको करिब १० दिनपछि प्रहरीले भारतको अररिया घर भई दमकमा बस्दै आएका ३४ वर्षीय रमेशकुमार पण्डितलाई सार्वजनिक गरेको हो ।
जिल्ला प्रहरी कार्यालय झापाले शुक्रबार पत्रकार सम्मेलन गर्दै पण्डितलाई जबरजस्ती करणी तथा कर्तव्य ज्यानसम्बन्धी कसुरमा अनुसन्धान भइरहेको जनाएको छ । उनी दमक क्षेत्रमा टायल्स र मार्बल जडानको ठेक्कापट्टाको काम गर्दै आएका थिए ।
जिल्ला प्रहरी कार्यालय झापाकी प्रमुख प्रहरी उपरीक्षक (एसपी) बसुन्धरा खड्काका अनुसार घटनाको अनुसन्धान सीसी क्यामेरा फुटेज, मोबाइल फोनको लोकेसन तथा अन्य प्राविधिक प्रमाणका आधारमा अघि बढाइएको थियो । ‘घटनास्थल आसपासका फुटेज र प्राविधिक विवरणको विश्लेषण गर्दै जाँदा अभियुक्तसम्म पुग्न सफल भयौँ’, उनले भनिन् ।
प्रहरीका अनुसार पण्डित र तिवारीबिच यसअघिदेखि चिनजान थियो । अनुसन्धानका क्रममा उनीहरूबिच घटना हुनुअघि राति दुई पटकसम्म शारीरिक सम्बन्ध भएको खुलेको छ । १३ जेठ राति पनि भेटघाटका क्रममा उनीहरूबिच पैसाको विषयलाई लिएर विवाद भएको थियो ।
प्रहरी स्रोतका अनुसार युवतीले मागेअनुसार रकम दिन नसकेपछि दुवैबीच भनाभन चर्किएको थियो । विवाद बढ्दै जाँदा राति करिब ११ बजेतिर पण्डितले तिवारीको हत्या गरेका थिए ।
हत्यापछि उनले शवलाई कोठामै बोरा प्रयोग गरेर प्याक गरेका थिए । त्यसपछि भारतीय नम्बर प्लेटको मोटरसाइकलमा राखेर दमक नगरपालिका-१० स्थित सेतुमारी क्षेत्रको पुलमुनि लगेर फालेको प्रहरीको अनुसन्धानबाट खुलेको छ । घटनास्थल नजिकै मृतकको चप्पल फेला परेको थियो ।
१३ जेठमै शव फालिए पनि १६ जेठमा रतुवा खोलाको पुलमुनि स्थानीयवासीले देखेपछि प्रहरीलाई खबर गरेका थिए । त्यसपछि प्रहरीले सीसी क्यामेरा फुटेज, प्राविधिक विश्लेषण तथा अन्य प्रमाणका आधारमा अनुसन्धान अघि बढाएको थियो ।
प्रहरीका अनुसार शव व्यवस्थापन गरेर फर्किएपछि पण्डित रातभर सुत्न सकेका थिएनन् । भोलिपल्ट बिहान दमकस्थित पशुपति मन्दिरमा पुगेर पूजा गरेका थिए । अनुसन्धानमा संलग्न एक प्रहरी अधिकारीका अनुसार उनले आफूबाट गल्ती भएको भन्दै क्षमायाचना गरेको समेत खुलेको छ ।
घटनापछि मृतकका आफन्तले प्रेमीलाई भेट्न भन्दै तिवारी घरबाट निस्किएको बताएका थिए । त्यस आधारमा प्रहरीले प्रारम्भिक अनुसन्धान प्रेमीमाथि केन्द्रित गरेको थियो । तर, संलग्नताको प्रमाण नदेखिएपछि अनुसन्धानको दायरा फराकिलो बनाइएको थियो । त्यसक्रममा प्रहरी पण्डितसम्म पुगेको हो ।
इलाका प्रहरी कार्यालय दमकका डीएसपी हरिबहादुर बस्नेत नेतृत्वको टोलीले घटनाको अनुसन्धान गरेको थियो । पक्राउ परेका पण्डितमाथि थप अनुसन्धान जारी रहेको प्रहरीले जनाएको छ ।
















