१२ जेष्ठ २०८३, मंगलबार | Tue May 26 2026

सांसद खरेलले तमासा भनेपछि संसद बैठकमा हंगामा



काठमाडौं- प्रतिनिधिसभाको बैठकमा विपक्षी दलहरूको निरन्तर अवरोधबीच बोल्न उठेका राष्ट्रिय स्वतन्त्र पार्टी रास्वपाका सांसद जगदीश खरेलले विपक्षीहरूको गतिविधिलाई ‘तमासा’ भनेपछि संसद् बैठक केहीबेर तनावग्रस्त बनेको छ। त्यसपछि सभामुखले बैठक १५ मिनेटका लागि स्थगित गरेका छन् ।

प्रधानमन्त्रीको उपस्थिति र जवाफदेहिताको माग गर्दै विपक्षी दलहरूले लगातार विरोध जनाइरहेका बेला संसद्को कारबाही भने अघि बढिरहेको थियो । कार्यसूचीअनुसार पर्यटन विधेयकमाथिको सैद्धान्तिक छलफलमा भाग लिन रोस्ट्रममा पुगेका सांसद खरेलले सुरुमै विपक्षी दलप्रति कटाक्ष गरेपछि बैठकमा होहल्ला चर्किएको थियो ।

उनले संसद्मा देखिएको अवरोधप्रति असन्तुष्टि जनाउँदै सरकारले अध्यादेश ल्याउनुपरेको कारण अहिलेको अवस्थाले स्पष्ट पारेको टिप्पणी गरे । २०७२ मा संविधान बनेयता आवश्यक कानुन समयमै किन बन्न सकेनन् भन्ने कुरा अहिलेको संसदीय अभ्यासले देखाइरहेको छ, उनले भने, यसरी संसद् चल्दा कानुन निर्माण प्रक्रिया प्रभावित हुन्छ भन्ने महसुस भएको छ ।

खरेलले विपक्षी दलका सांसदहरूतर्फ संकेत गर्दै संसद्मा भइरहेको गतिविधिलाई ‘संसदीय तमासा’ को संज्ञा दिएका थिए । उनले कानुन निर्माण प्रक्रियामा सबै दल जिम्मेवार हुनुपर्ने धारणा राख्दै प्रधानमन्त्रीको उपस्थितिलाई लिएर संसद् अवरुद्ध गर्नु उपयुक्त नहुने बताएका थिए ।

उनको अभिव्यक्तिपछि विपक्षी सांसदहरू आक्रोशित बनेका थिए । नरेन्द्रकुमार केरूङ रोस्ट्रमतर्फ अघि बढ्न खोजेका थिए भने वासना थापा ले उनलाई रोक्दै पछाडि फर्काएकी थिइन् ।

यसअघि पनि सभामुखले संसद्मा असंसदीय र अमर्यादित शब्द प्रयोग नगर्न पटक–पटक रुलिङ गर्दै आएका छन् । केही सांसदहरूको अभिव्यक्ति संसदीय अभिलेखबाट हटाइएका उदाहरणसमेत छन् ।

प्रकाशित मिति : १२ जेष्ठ २०८३, मंगलबार ००:००  ४ : ११ बजे