झापा-सरकारीस्तरमा आइतबार सार्वजनिक बिदा लागू भएपछि बिर्तामोडको परम्परागत सोमबार बजार बन्दको विषय फेरि बहसमा आएको छ । बजार बन्दको दिन यथावत राख्ने, शनिबार सार्ने वा सातै दिन बजार खुला राख्ने विषयमा व्यवसायी दुई धारमा देखिएका छन् ।
यस विषयमा बिर्तामोड उद्योग वाणिज्य संघले मंगलबार आयोजना गरेको छलफलमा अधिकांश व्यवसायीले अहिलेको व्यवस्था पुनरावलोकन गर्नुपर्ने बताएका हुन् । संघका अध्यक्ष राजु न्यौपानेको अध्यक्षतामा भएको कार्यक्रममा पूर्वअध्यक्ष, वस्तुगत संघ-संस्था तथा थोक-खुद्रा व्यवसायी सहभागी थिए ।
व्यवसायीले आइतबार सरकारी कार्यालय, बैंक तथा वित्तीय संस्था बन्द हुने र त्यसपछि सोमबार बिर्तामोड बजारसमेत बन्द हुँदा लगातार दुईदेखि तीन दिनसम्म आर्थिक गतिविधि प्रभावित भइरहेको बताएका छन् । बैंकिङ कारोबार, ढुवानी, बिलिङ र सरकारी कागजी प्रक्रियामा असर परेको उनीहरूको भनाइ थियो ।
मुद्रण उद्योग संघ, मेची डिष्ट्रिव्यूटर्स एशोसिएसन, हार्डवेयर व्यवसायी संघ झापा र क्यान झापाले संयुक्तरूपमा शनिबार बजार बन्द गर्न माग गर्दै संघलाई ज्ञापनपत्र बुझाएका छन् । हार्डवेयर, डिलर र मुद्रण क्षेत्रका व्यवसायीले शनिबार नै अधिकांश क्षेत्र सुस्त हुने भएकाले त्यही दिन साप्ताहिक बिदा उपयुक्त हुने तर्क गरेका छन् ।
तर, कपडा तथा खुद्रा व्यवसायीको ठूलो समूहले सोमबारकै बन्दलाई निरन्तरता दिनुपर्ने अडान राखेको छ । उनीहरूका अनुसार सप्ताहन्तमा किनमेलको चाप बढी हुने भएकाले शनिबार बजार बन्द गर्दा खुद्रा व्यापार प्रभावित हुन्छ । प्रसाई मार्केटले पनि सोमबारकै बन्द कायम राख्न माग गरेको छ ।
केही व्यवसायीले भने अनलाइन व्यापार र सीमावर्ती बजारसँगको प्रतिस्पर्धा बढेकाले अब ‘बन्द संस्कृति’ अन्त्य गरेर सातै दिन बजार सञ्चालन गर्नुपर्ने धारणा राखेका छन् । कर्मचारीलाई आलोपालो बिदा दिने व्यवस्था गर्न सकिने उनीहरूको सुझाव थियो ।
संघले छलफलमा आएका सुझाव आगामी साधारण सभामा निर्णयार्थ पेश गरिने जनाएको छ । कार्यक्रममा पूर्वअध्यक्ष राजेन्द्रकुमार थापा, कुमार भट्टराई, वलराम कार्की, विशिष्ट सदस्य निर्मल भट्टराई तथा व्यवसायी सुरेश कुमार अग्रवाल भद्रपुरे, नारायण चिमरिया, पंकज मित्तल, वीरबहादुर दर्नाल, श्याम श्रीवास्तव, देवेन्द्रकुमार सिंह, गौरीशंकर गुप्ता, गोविन्द भुर्तेल, गजेन्द्र पौडेल, दीपेश पाठक, मोहन पाइम र मिक्की कार्की लगायतले धारणा राखेका थिए ।
















