२६ माघ २०८२, आइतबार | Sun Feb 8 2026

घृणाको पक्षमा समर्थन बढ्दै जानु राम्रो संकेत होइन : निवर्तमान सभामुख घिमिरे




बिर्तामोड । प्रतिनिधिसभाका निवर्तमान सभामुख देवराज घिमिरेले सामाजिक मर्यादा र लोकतान्त्रिक संस्कार जोगाउनु सबैको दायित्व रहेको बताएका छन् ।

केही दिनअघि अर्जुनधारामा मन्तव्य दिइरहेका बेला पर्खाल बाहिरबाट एक महिला र नवजात शिशुले आफूलाई नियालिरहेको तस्बीर देखेपछि मनमा धेरै कुरा आएको उल्लेख गर्दै घिमिरेले समाजप्रति जिम्मेवारीबोध गर्नुपर्ने बताए ।

उनका अनुसार नेपाली समाज दुई देखि चार पुस्तासम्म मिलेर बस्ने परम्परामा आधारित छ, जहाँ ठूलालाई आदर गर्ने र सानालाई माया गर्ने संस्कारले समाजलाई जोडेर राखेको छ । ‘हाम्रो समाज विभिन्न जातजाति, भाषा र संस्कृतिले बनेको छ । यही विविधताभित्र आपसी सम्मान नै हाम्रो पहिचान हो,’ उनले भने ।

एक उम्मेदवार र जनप्रतिनिधिका रूपमा आफ्नो जीवन सबैका लागि खुला किताबजस्तै भएको उल्लेख गर्दै उनले सबै उमेर समूहका नागरिकले आफूलाई नियाल्न सक्ने बताए । ‘महिला र नवजात शिशुले जसरी मलाई हेरिरहेका थिए, त्यसरी नै समाजका सबै वर्गले जनप्रतिनिधिलाई नियालिरहेका हुन्छन्,’ उनले स्पष्ट पारे ।

तर पछिल्ला वर्षहरूमा सामाजिक सञ्जाल र सार्वजनिक जीवनमा ज्येष्ठ व्यक्तित्वलाई अपमान गर्ने, घृणात्मक अभिव्यक्ति दिने र होच्याउने प्रवृत्ति बढेकोप्रति उनले चिन्ता व्यक्त गरेका छन् ।

‘राजनीतिमा घृणा मिसिएका कठोर शब्द प्रयोग गर्नेहरूलाई समर्थन बढ्दै जानु लोकतन्त्रका लागि राम्रो संकेत होइन,’ उनले भने । आफ्नो इनबक्समा आएका प्रश्नहरूलाई सकेसम्म जवाफ दिइरहेको तर कतिपय टिप्पणी सभ्य समाजमा बोल्न, सुन्न र लेख्नै नसकिने खालका रहेको उनले बताएका छन् ।

निवर्तमान सभामुख घिमिरेले निर्वाचन आउँछन् र जान्छन्, पुस्ता फेरिन्छन् तर लोकतन्त्र र सामाजिक सम्बन्धलाई कसिलो बनाउने जिम्मेवारी सधैं सबै नागरिकको हुने उल्लेख गरेका छन् । ‘चुनाव मात्र होइन, हाम्रो व्यवहार, बोली र लेखाइले पनि लोकतन्त्र बलियो वा कमजोर बनाउँछ,’ उनले सामाजिक सञ्जालमा लेखेका छन् ।

प्रकाशित मिति : २६ माघ २०८२, आइतबार ००:००  १० : २९ बजे