२१ फाल्गुन २०८२, बिहिबार | Thu Mar 5 2026

बिर्तामोडमा वडा विभाजनको प्रस्ताव : दुई नम्बरलाई फुटाएर अर्को वडा बनाइने



बिर्तामोड– बिर्तामोड नगरपालिकाको वडा नम्बर २ लाई दुई वटा वडा बनाउने प्रस्ताव गरिएको छ । नगरपालिकाको दोस्रो नगरसभाको आठौँ अधिवेशनको समापन कार्यक्रमअन्तर्गत आयोजित खुला सत्रमा बोल्दै वडा नम्बर २ का वडाध्यक्ष किशोर पौडेलले वडा विभाजनको माग गर्दै विशेष प्रस्ताव प्रस्तुत गर्नु भएको हो ।

वडाध्यक्ष पौडेलले साविक चारपाने गाविसका वडा नम्बर २, ३, ४, ५, ६, ७, ८ र ९ हाल वडा नम्बर २ अन्तर्गत रहेकाले क्षेत्रफल, पूर्वाधार र जनसंख्याको दृष्टिले व्यवस्थापन गर्न कठिन भएको बताउनु भयो ।

सोही आधारमा नयाँ वडा गठनको प्रस्ताव अघि सारिएको उहाँले स्पष्ट पार्नुभयो । उहाँले साविक वडा नम्बर २, ३, ४ र ५ लाई वडा नम्बर २ तथा साविक वडा नम्बर ६, ७, ८ र ९ लाई वडा नम्बर ११ कायम गर्न प्रस्ताव सभामा प्रस्तुत गर्नु भएको हो ।

वडाध्यक्ष पौडेलले प्रस्तुत गर्नुभएको विशेष प्रस्ताव सभाबाट पारित भएको नगर प्रमुख पवित्रा महतारा प्रसाईले जानकारी दिनुभयो । उहाँले उक्त प्रस्ताव प्रक्रियाका लागि सरकारको सम्बन्धित निकायमा पेश गरिने बताउनु भयो ।

नगर प्रमुख प्रसाईले नगरपालिका निर्माण गर्दा भौगोलिक अवस्थालाई पर्याप्त ध्यान नदिई सीमाङ्कन गरिएकाले वडा नम्बर २ र वडा नम्बर १० अत्याधिक ठूलो रहेको उल्लेख गर्नुभयो ।

प्रकाशित मिति : १६ माघ २०८२, बिहिबार ००:००  ७ : १५ बजे