भद्रपुर-झापाको भद्रपुरमा जारी झापा औद्योगिक, व्यापार, कृषि तथा पर्यटन महोत्सव रोक्न प्रहरीले दबाब दिएको भन्दै आयोजक झापा उद्योग वाणिज्य संघले आपत्ति प्रकट गरेको छ ।
शुक्रबार सङ्घले पत्रकार सम्मेलन गरी प्रहरी प्रशासनले महोत्सव सञ्चालनमा श्रृङ्खलाबद्ध रुपमा अवरोध सिर्जना गरेको जनाएको हो पत्रकार सम्मेलनमा बोल्दै संघका कार्यवाहक अध्यक्ष राजकुमार राईले प्रहरी प्रशासनको त्रासका बीच महोत्सव सञ्चालन गर्न चुनौतीपूर्ण भएको बताए ।
जिल्ला प्रहरी कार्यालय झापाको सामुन्ने मेची रङ्गशाला परिसरमा माघ ७ गतेदेखि महोत्सव सुरु भएको थियो । तर, प्रहरीले शर्तसहित साँझ ७ बजे सम्मकाे समयसीमा निर्धारण गरेर अवरोध गर्ने प्रयास गरेको सङ्घको जिकिर छ ।
‘प्रहरीबाटै असुरक्षित भएको महसुस हुन थालेपछि आयोजक महोत्सवको निर्धारित मिति माघ २२ अगावै समापन गर्नुपर्ने अवस्थामा पुगेको छ’, पत्रकार सम्मेलनमा कार्यवाहक अध्यक्ष राईले भने ।
सञ्चालनका लागि स्वीकृति दिँदै गर्दा जिल्ला प्रशासन कार्यालयले कुनै समय उल्लेख गरेको थिएन । तर, प्रहरीले हठात् महोत्सवलाई मेलाको दृष्टिकोणबाट मात्रै हेरेर समय सीमा निर्धारण गरेपछि विवाद सुरु भएको हो ।
भद्रपुर नगरपालिकाका प्रमुख गणेश पोखरेलले महोत्सव प्रभावित हुने गरी प्रहरीले गरेको हस्तक्षेप स्वीकार्य नभएको बताए । ‘यो कुनै लालुपाते क्लबले आयोजना गरेको मेला होइन’, पत्रकार सम्मेलनमा नगर प्रमुख पोखरेल भने ।
भद्रपुर नगरपालिका महोत्सवको संरक्षकका रूपमा रहेको छ । नगर प्रमुख पोखरेलले सरोकारवालासँग छलफल गरेर मात्रै निष्कर्षमा पुग्नु पर्नेमा प्रहरी प्रशासनले मनोमानी ढंगले दबाब दिनु उचित नहुने बताए ।
निर्वाचन आचारसंहिताको अस्वभाविक कारण देखाएर प्रहरीले महोत्सव रोक्न खोजेको वडाध्यक्ष गौरव सुब्बा बताउँछन् । महोत्सव सञ्चालनका लागि अहिलेसम्म एक करोडभन्दा बढी रुपैयाँ खर्च भइसकेको जनाइएको छ ।
नेपाल उद्योग वाणिज्य महासङ्घ कोशी प्रदेशका पूर्व अध्यक्ष टीकाराज ढकालले महोत्सव सञ्चालनमा झापा प्रहरीबाट भएको हस्तक्षेप र अवरोधका विषयमा महासङ्घको केन्द्रीय नेतृत्वलाई तत्काल जानकारी गराउने बताए ।















