बिर्तामोड– निवर्तमान सभामुख देवराज घिमिरेले पत्रकारिताको व्यवसायिक धर्मलाई सञ्चार क्षेत्रले भुल्न नहुने बताउनु भएको छ । प्रेस चौतारी नेपालको २८ औँ स्थापना दिवसका अवसरमा बिहीबार प्रेस चौतारी झापाले आयोजना गरेको कार्यक्रमलाई सम्बोधन गर्दै निवर्तमान सभामुख घिमिरेले यस्तो धारणा व्यक्त गर्नु भएको हो ।
‘सञ्चार जगतले व्यवसायिक धर्म र चरित्रलाई आत्मसात गर्नुपर्छ’, कार्यक्रममा बोल्दै निवर्तमान सभामुख घिमिरेले भन्नुभयो, ‘तथ्यमा रहेर आफ्ना तर्कहरू अघि सारिनुपर्छ ।’
उहाँले फागुन २१ का लागि घोषित निर्वाचनलाई सामान्यरुपमा लिन नहुने बताउँदै यसले देशको भाग्य र भविष्य निर्धारण गर्ने बताउनु भयो ।
सरकार गठनको संवैधानिक प्रक्रियाप्रति पटक-पटक प्रश्न उठाउँदै आउनु भएका घिमिरेले प्रधानमन्त्री लगायत कतिपयका अभिव्यक्तिले निर्वाचनको वातावरण बिथोलिन सक्ने बताउनु भयो ।














