काठमाडौं– नेपाली कांग्रेसभित्र लामो समयदेखि चर्चामा रहेको नेतृत्व हस्तान्तरणको विषयले नयाँ मोड लिएको छ । पार्टी सभापति शेरबहादुर देउवाले औपचारिक रूपमा १५औं महाधिवेशनबाट आफूले पार्टीको नेतृत्व छोड्ने उद्घोष गरेका छन् ।
पार्टी केन्द्रीय कार्यालय सानेपामा आजबाट सुरु भएको केन्द्रीय कार्यसमिति बैठकलाई सम्बोधन गर्दै देउवाले ‘घरमा सधैं एउटै मूली नरहेझैं पार्टीमा पनि एउटै सभापति नरहने’ भन्दै वैधानिक व्यवस्था र आफ्नो राजनीतिक इच्छाअनुसार नेतृत्व हस्तान्तरण गर्ने बताएका हुन् ।
देउवाले आफ्नो लिखित सम्बोधनमा भने, “आगामी १५औं महाधिवेशनबाट म बाहेक अरु कुनै साथी सभापति बन्नु हुनेछ, त्यसमा द्विविधा छैन ।” उनको यो भनाइले कांग्रेसभित्र नयाँ नेतृत्वको ढोका खुल्ला भएको संकेत गरेको छ ।
यद्यपि, देउवाको यस घोषणासँगै एउटा महत्त्वपूर्ण प्रश्न भने अनुत्तरित नै छ । १५औं महाधिवेशन कहिले हुन्छ ? सभापति देउवा महाधिवेशनको मितिबारे मौन रहेका छन् ।
पछिल्लो समय ‘जेन-जी आन्दोलन’ र पार्टीका युवा नेता तथा महामन्त्रीद्वय गगनकुमार थापा र विश्वप्रकाश शर्माले केन्द्रीय कार्यसमितिको म्याद नथपी आगामी मंसिरभित्रै नियमित वा विशेष महाधिवेशन गर्नुपर्ने भन्दै दबाब बढाइरहेका छन् ।
देउवाको आजको घोषणाले एकातर्फ नेतृत्व हस्तान्तरणको प्रतिबद्धता देखाए पनि अर्कोतर्फ महाधिवेशनको मितिबारेको अनिर्णयले पार्टीभित्रको आन्तरिक शक्ति संघर्ष र भावी रणनीतिलाई अझ जटिल बनाउने सम्भावना देखिन्छ ।














