दमक-मेची बहुउद्देश्यीय सहकारी संस्थाले मिनरल वाटर उत्पादन गर्ने भएको छ । संस्थाले बहुउद्देश्यीय प्रकृतिका व्यवसायिक योजनामा लगानी बढाउँदै लैजाने नीति अनुरुप पानी उद्योग स्थापना गर्न लागेको हो ।
मेची सहकारी जल उद्योग दर्ता गरी उद्योगमा मेसिनरी औजार जडान गर्ने कार्य भइरहेको सहकारी संस्थाका अध्यक्ष नारायणप्रसाद भट्टराईले बताउनु भयो ।
पानी उद्योग सञ्चालनका लागि सहकारीले ३ करोड ५० लाख रुपैयाँ लगानी गर्ने छ । २९ औँ वार्षिक उत्सव तथा ३१ औँ साधारण सभाको प्रतिवेदन सार्वजनिक गर्दै अध्यक्ष भट्टराईले मेची सहकारी आवास कार्यक्रमलाई समेत यसवर्ष निरन्तरता दिने बताउनु भयो ।
सहकारी संस्थाले एकीकृत बस्ती विकासको अवधारणा अनुरूप दुई वर्ष अघि आवास निर्माण गरी सदस्यहरूलाई हस्तान्तरण गरेको थियो ।
आवास २ निर्माणका लागि जग्गा खरिद गर्न सहकारी संस्थाले ५ करोड रुपैयाँ बजेट विनियोजन गरेको छ । सहकारी विद्यालय सञ्चालनका लागि समेत संस्थाले प्रारम्भिक अध्ययन सुरु गरेको र त्यसका लागि दुई करोड रुपैयाँ बजेट विनियोजन गरिएको अध्यक्ष भट्टराईले बताउनु भयो ।
सहकारी संस्थाले खाली रहेका जग्गाहरू भाडामा लिएर फलफुलका बिरुवा रोप्ने समेत नीति अघि सारेको छ । त्यसका लागि करिब २ करोड रुपैयाँ विनियोजन गरिएको छ ।
१२ वटा सेवा केन्द्रमार्फत सदस्यलाई वित्तीय सेवा दिँदै आएको मेची सहकारीले यसवर्ष सदस्यका छोराछोरीले सहकारी विषयमा विद्यावारिधि गर्न चाहे १ लाख रुपैयाँ अध्ययन खर्च दिने घोषणा पनि गरेको छ ।
सहकारी संस्थाका प्रमुख कार्यकारी अधिकृत खाेमप्रसाद बगालेले चालु आर्थिक वर्षमा व्यवसायिक योजनाहरूलाई कार्यान्वयनमा लैजाने बताउनु भयो ।
अहिले १७ हजार ८१७ जना सेयर सदस्य छन् । चालु आर्थिक वर्षमा दुई हजार भन्दाबढी सदस्य थप्ने संस्थाको योजना छ ।३९ करोड ७० लाख रूपैयाँ सेयर पुँजी रहेको मेची सहकारीमा सदस्यहरूको ३ अर्ब ७८ करोड ८५ लाख रुपैयाँ बचत छ ।
गत आर्थिक वर्षमा संस्थाले ६ करोड ५७ लाख मुनाफा गरेको कार्यकारी अधिकृत बगालेले बताउनु भयो । मेची सहकारीले गतवर्ष विभिन्न शीर्षकमा राज्यलाई २ करोड ७४ लाख रुपैयाँ कर तिरेको छ ।















