२५ श्रावण २०८३, सोमबार | Mon Aug 10 2026

कोशीमा जापानिज इन्सेफ्लाइटिसबाट डेढ महिनामा ६ जनाको मृत्यु



विराटनगर-कोशी प्रदेशमा जापानिज इन्सेफ्लाइटिस (जेई) संक्रमणबाट पछिल्लो डेढ महिनामा ६ जनाको मृत्यु भएको छ । स्वास्थ्य सेवा विभाग, परिवार कल्याण महाशाखाका अनुसार देशभर यस अवधिमा जेई संक्रमणबाट ९ जनाको मृत्यु भएको छ ।

गत असारयता देशभर ४६ जनामा जेई संक्रमण पुष्टि भएकोमा ९ जनाको मृत्यु भएको खोप शाखा प्रमुख डा. अभियान गौतमले बताए । कोशीमा मृत्यु हुनेमा इलाम, झापा र मोरङसहितका जिल्लाका बिरामी छन् ।

उनका अनुसार मृत्यु हुने अधिकांश ४० वर्षभन्दा माथिका र जेईविरुद्धको खोप नलगाएका व्यक्ति छन् । संक्रमण विशेष गरी साउनदेखि कात्तिकसम्म बढी देखिने भएकाले जोखिम बढेको उनले बताए ।

गत आर्थिक वर्षमा पनि नेपालमा १४१ जनामा जेई संक्रमण पुष्टि हुँदा ४१ जनाको मृत्यु भएको थियो । पछिल्लो समय संक्रमण र मृत्युदर बढ्दै जानु जनस्वास्थ्यका लागि चुनौती बनेको डा. गौतमले बताए ।

जेईको प्रभावकारी एन्टिभाइरल उपचार नभएकाले खोप र लामखुट्टेको टोकाइबाट बच्नु नै मुख्य सुरक्षा उपाय रहेको स्वास्थ्य अधिकारीहरूले बताएका छन् । नेपालमा बालबालिकालाई नियमित रूपमा जेईविरुद्धको खोप दिइँदै आएको छ ।

खोप शाखाले जेईको उच्च जोखिम रहेका ११ जिल्लामा खोप अभियान सञ्चालन गर्न चालु वर्ष ४६ करोड रुपैयाँ विनियोजन गरेको जनाएको छ ।

प्रकाशित मिति : २५ श्रावण २०८३, सोमबार ००:००  ४ : ०३ बजे