२५ श्रावण २०८३, सोमबार | Mon Aug 10 2026

झापामा एक वर्षमा २४ हजार चालक कारबाही



बिर्तामोड– झापामा सवारी नियम उल्लंघन गर्ने चालकको संख्या बढ्दो देखिएको छ । आर्थिक वर्ष २०८२/८३ मा मात्रै जिल्लामा २४ हजार ६८० चालक कारबाहीमा परेका छन् । सोही अवधिमा भएका २ हजार १९७ सवारी दुर्घटनामा ७७ जनाको मृत्यु भएको छ ।

जिल्ला ट्राफिक प्रहरी कार्यालय झापाका अनुसार कारबाहीमा पर्नेमा सबैभन्दा धेरै ट्रक चालक छन् । एक वर्षमा ९ हजार १६७ ट्रक चालक कारबाहीमा परेका हुन् । त्यस्तै ६ हजार ४५४ कार तथा जीप, ५ हजार ६०२ मोटरसाइकल र २ हजार ४६१ टेम्पो, अटो तथा सिटी चालक कारबाहीमा परेका छन् ।

यसैगरी ५२१ बस, ८४ टिपर र ३९३ ट्र्याक्टर चालक कारबाहीमा परेको कार्यालय प्रमुख प्रहरी निरीक्षक सन्तोष राईले बताए ।उनका अनुसार जरिवाना तिरेपछि पनि कतिपय चालकले पटक-पटक नियम उल्लंघन गर्ने गरेका छन् ।

नियम उल्लंघन गर्ने चालकलाई कसुरको प्रकृतिअनुसार सचेत गराउनेदेखि जरिवानासम्मको कारबाही गरिएको उनले बताए । कारबाहीबाट ट्राफिक प्रहरीले एक वर्षमा २ करोड ४३ लाख ७४ हजार ३४ रुपैयाँ राजस्व संकलन गरेको छ ।

मोटरसाइकल दुर्घटना बढी

झापामा भएको २ हजार १९७ दुर्घटनामध्ये सबैभन्दा धेरै १ हजार ३३५ मोटरसाइकल दुर्घटनामा परेका छन् । यसबाहेक १९० कार तथा जीप, २०४ टेम्पो, ६९ बस, ४५ ट्रक र ६८ ट्र्याक्टर दुर्घटनामा परेका छन् ।

दुर्घटनामा ५९ पुरुष, १३ महिला र ५ बालबालिकाले ज्यान गुमाएका छन्। दुर्घटनामा १११ जना गम्भीर र २ हजार ४६४ जना सामान्य घाइते भएका छन् ।

दुर्घटना र मानवीय क्षति न्यूनीकरणका लागि नियमित चेकजाँच, चालक सचेतना तथा सवारी नियमको कडाइका साथ कार्यान्वयनलाई प्राथमिकता दिइएको ट्राफिक प्रहरीले जनाएको छ ।

प्रकाशित मिति : २५ श्रावण २०८३, सोमबार ००:००  ३ : ४४ बजे