५ बैशाख २०८३, शनिबार | Sat Apr 18 2026

बिर्तामोडमा कृषकलाई प्रोत्साहन : ‘पारीको होइन, बारीको’ अभियान अन्तर्गत १३ लाख भुक्तानी



बिर्तामोड-बिर्तामोड नगरपालिकाले स्थानीय तरकारी उत्पादक कृषकहरूको मेहनतलाई सम्मान गर्दै उनीहरूलाई प्रोत्साहन गर्न समर्थन मूल्य रकम वितरण गरेको छ ।

‘पारीको होइन, बारीको खाउँ’ अभियानलाई सार्थक बनाउँदै नगरपालिकाले २४ जना कृषकलाई एकमुष्ट १२ लाख ८१ हजार ८ सय ८७ रुपैयाँ हस्तान्तरण गरेको हो ।

नगरपालिकाको सभाहलमा आयोजित एक कार्यक्रममा नगर प्रमुख पवित्रा महतारा प्रसाईंले कृषकहरूलाई चेक हस्तान्तरण गर्नुभयो ।

यसअन्तर्गत सबैभन्दा बढी रकम वडा नं. ७ का प्रदीप खनालले ५ लाख ३४ हजार ५११ रुपैयाँ पाउनु भएको छ भने सबैभन्दा कम सोही वडाका रविन बरालले २०८ रुपैयाँ प्राप्त गर्नु भएको छ ।

कृषकलाई समर्थन मूल्य भुक्तानी दिने सम्बन्धी कार्यविधि माघ १५ गतेको कार्यपालिका बैठकबाट पारित गरिएको थियो ।

नगर कृषि शाखा प्रमुख राजेन्द्रप्रसाद कडरियाका अनुसार, यस अभियान अन्तर्गत एक वर्षको अवधिमा मुख्य सङ्कलन केन्द्रबाट मात्रै ७३ लाख २३ हजार ५४० रुपैयाँ बराबरको २ लाख ७६ हजार ३२४ किलो तरकारी बिक्री भएको छ ।

यस कार्यक्रममा हाल ११७ जना व्यावसायिक कृषक आवद्ध छन्, जसमध्ये ६७ जनाले मुख्य सङ्कलन केन्द्रमा नियमित तरकारी बिक्री गर्दै आएका छन् ।

नगरपालिकाले गत आर्थिक वर्षदेखि सञ्चालन गरेको यो अभियानअन्तर्गत एउटा मुख्य सङ्कलन केन्द्र र सातवटा बिक्री केन्द्रहरू स्थापना गरेको छ ।

कृषकलाई थप सहजीकरण गर्न सङ्घीय सरकारसँगको बराबर लागत साझेदारीमा २६ लाख रुपैयाँको कृषि एम्बुलेन्स समेत खरिद गरिएको छ ।

उत्पादन नरोक्नुहोस्, नगरपालिका साथमा छ’

कार्यक्रममा बोल्दै नगर प्रमुख प्रसाईंले कृषकहरूलाई निरन्तर उत्पादनमा लाग्न प्रेरित गर्न यो कार्यक्रम ल्याइएको बताउनु भयो ।

उहाँले भन्नुभयो, ‘भारत तथा पहाडी जिल्लाबाट आउने तरकारीमा विषादीको मात्रा उच्च पाइएको छ । त्यसैले विषादी न्यूनीकरण गर्दै अर्गानिक उत्पादनमा लाग्नुहोस् ।’

उहाँले कृषकका लागि नगरपालिकाले तालिमलगायत अन्य सहयोग जारी राख्ने प्रतिबद्धतासमेत व्यक्त गर्नु भयो । वडा नं. ७ का कृषक श्याम पकुवालले नगरपालिकाको यो कदमले आफूहरूलाई ठूलो राहत मिलेको बताउनु भयो ।

‘तरकारी उत्पादन नै बन्द गर्ने अवस्थामा पुगेका हामीजस्ता कृषकलाई नगरपालिकाको यो सहयोगले ठूलो आडभरोसा दिएको छ’, उहाँले भन्नुभयो ।

नगरपालिकाले तोकेको न्यूनतम समर्थन मूल्यअनुसार काउली प्रतिकिलो २६, बन्दा २४, ब्रोकाउली ३५, करेला ३२, सिमी ४६, लौका २७ र टमाटर ३० रुपैयाँलगायत अन्य तरकारीको मूल्य निर्धारण गरिएको छ ।

कृषि विकास शाखा संयोजक तथा कार्यपालिका सदस्य संगीता सिवाकाे अध्यक्षतामा सम्पन्न कार्यक्रममा नगर उपप्रमुख नगेन्द्रप्रसाद संग्रौला, प्रमुख प्रशासकीय अधिकृत सागर मिश्र, कृषि विज्ञ राजेन्द्रप्रसाद उप्रेती, कृषि ज्ञान केन्द्र झापाका प्रमुख सागर विष्ट, प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजनाका प्रमुख रवीन्द्र सुवेदीलगायत जनप्रतिनिधि र कृषकहरूको बाक्लो उपस्थिति रहेको थियो ।

प्रकाशित मिति : १७ श्रावण २०८२, शुक्रबार ००:००  ८ : ३७ बजे