कनकाई– झापाको कनकाई नगरपालिकाले आगामी आर्थिक वर्ष २०८२/८३ का लागि नागरिकको सामाजिक सुरक्षा र योजनाहरूको प्रभावकारी कार्यान्वयनलाई प्राथमिकतामा राख्दै ७० करोड ६९ लाख २५ हजार १०१ रुपैयाँको बजेट सर्वसम्मतिले पारित गरेको छ ।
नगरपालिकाले सोमबार आयोजना गरेको एक विशेष कार्यक्रममा बजेट, नीति तथा कार्यक्रमसहितको विस्तृत पुस्तिका सार्वजनिक गरेको हो ।
कार्यक्रमका प्रमुख अतिथि, कोशी प्रदेशका खानेपानी, सिञ्चाइ तथा ऊर्जामन्त्री एकराज कार्कीले बजेट पुस्तिका सार्वजनिक गर्दै कनकाई नगरपालिकाको कार्यको प्रशंसा गर्नुभयो ।
‘धेरै पालिकाहरूले बजेट टुंग्याउन नसकिरहेको बेला कनकाईले पुस्तिका नै छापेर सार्वजनिक गर्नु जिल्लामै उदाहरणीय काम हो’, उहाँले भन्नुभयो ।
नगर प्रमुख राजेन्द्र पोखरेलले आगामी वर्षका मुख्य कार्यक्रमबारे जानकारी दिँदै यस वर्ष ६ सय परिवारलाई उपलब्ध गराइएको स्वास्थ्य बीमाको दायरा बढाएर अर्को वर्ष १३ सय परिवारमा पुर्याइने प्रतिबद्धता जनाउनुभयो ।
उहाँले कार्यविधि बनाएर मृत्यु संस्कार सहयोग र विपन्न नागरिकलाई खानेपानीमा सहुलियत जस्ता नयाँ कार्यक्रमहरू सञ्चालन गरिने बताउनुभयो ।
कार्यक्रममा प्रमुख प्रशासकीय अधिकृत नारायण न्यौपानेले आगामी साउनदेखि कात्तिकभित्र सबै ठेक्कापट्टा र पुस मसान्तभित्र उपभोक्ता समितिमार्फत हुने कामको सम्झौता गरिसक्ने बताउनु भयो ।
नगर उपप्रमुख आशा शर्मा शिवाकोटीले सभामा बजेट प्रस्तुत गर्नु भएको थियो । कार्यक्रममा स्वागत मन्तव्य राख्दै उहाँले चालु आर्थिक वर्षको समीक्षात्मक जानकारी पनि दिनुभएको थियो ।
सोही अवसरमा नगरपालिकाले पत्रकार विकास उप्रेतीसहित समाजका विभिन्न क्षेत्रमा योगदान पुर्याउने १६ जनालाई सम्मान गरेको थियो ।
सम्मानितहरूको तर्फबाट उत्कृष्ट करदाता कुमारमणि पोखरेल र उत्कृष्ट खेलाडी रोमा थापाले शुभकामना मन्तव्य राख्नु भएको थियो । कार्यक्रमको सञ्चालन योजना शाखा प्रमुख जमुना कटुवालले गर्नुभएको थियो ।














