बिर्तामोड-ज्ञानुराम प्रसाई स्मृति प्रतिष्ठानले बिर्तामोडमा वृक्षारोपण गरेको छ । सामाजिक तथा राजनीतिक योद्धा प्रसाईको चौथो स्मृति दिवसको सन्दर्भ पारेर प्रतिष्ठानले बुधबार अदुवा खोला करिडोरमा वृक्षारोपण गरेको हो ।
करिडोरमा गतवर्ष पनि बिरुवा रोपिएका थिए । त्यहाँ रोपिएका अधिकांश बिरुवा हुर्किएको प्रतिष्ठानका अध्यक्ष बद्रीप्रसाद भट्टराईले बताउनु भयो ।
पेबर्स बिछ्याउने तयारी गरिएको नेकपा एमाले पार्टी कार्यालयसम्म जाने करिडोरमा प्रतिष्ठानले वृक्षारोपणलाई निरन्तरता दिने जनाएको छ ।

वृक्षारोपण अघि आयोजित श्रद्धाञ्जलि सभामा नेकपा एमालेका नेता कार्यकर्ताले स्वर्गीय प्रसाईको सामाजिक तथा राजनीतिक योगदान अतुलनीय रहेको बताएका थिए ।
सभामा बोल्दै नेकपा एमालेका केन्द्रीय सल्लाहकार एवम् राष्ट्रिय सभाका पूर्व सांसद हरिचरण शिवाकोटीले बिर्तामोडको सामाजिक तथा राजनीतिक क्षेत्रमा ज्ञानुराम एउटा खम्बा भएको बताए ।
‘अल्पायुमा हाम्रो एउटा खम्बा ढलेकोमा हामी ज्यादै स्तब्ध र मर्माहत छौँ’, सभामा पूर्व सांसद शिवाकोटीले भने, ‘उहाँको लोभलाग्दो लोकप्रियतालाई हामीले पछ्याउनु पर्छ ।’
प्रतिष्ठानका संरक्षक पवित्रा महतारा प्रसाईले सरल, मिलनसार र सहयोगी व्यक्तित्वका धनी ज्ञानुरामको योगदानलाई समाजले र त्यसमा पनि नेकपा एमालेका नेता कार्यकर्ताले कहिल्यै नभुल्ने बताइन् ।
‘दृढ अठोट र इच्छाशक्ति थियो उहाँमा’, बिर्तामोड नगरकी प्रमुख समेत रहेकी प्रसाईले भनिन्, ‘प्रतिष्ठानले उहाँको योगदानलाई चिरस्थायी बनाउने अपेक्षा राखेका छौँ ।’
स्वर्गीय प्रसाईको स्मृतिमा गतवर्ष प्रतिष्ठान स्थापना गरिएको हो । प्रतिष्ठानले सामाजिक कामलाई प्राथमिकतामा राखेको र ज्ञानुरामको योगदानलाई चिरस्थायी बनाउने प्रयास गरेको अध्यक्ष भट्टराईले बताए ।
प्रतिष्ठानले गतवर्ष पनि वृक्षारोपण र रक्तदान कार्यक्रम आयोजना गरेको थियो । ‘उहाँको पद चापलाई हामी पछ्याउने कोसिस गरिरहेका छौँ’, सभामा अध्यक्ष भट्टराईले भने, ‘यसैका लागि प्रतिष्ठान खडा गरिएको हो ।’
प्रतिष्ठानका सचिव सुब्रत न्यौपाने ज्ञानुराम प्रसाईको सामाजिक तथा राजनीतिक योगदानलाई समेटेर प्रतिष्ठानले पुस्तक प्रकाशनको तयारी गरिरहेको बताउँछन् । उनले पुस्तकका लागि लेख रचना उपलब्ध गराउन सरोकारवाला सबैलाई अनुरोध पनि गरेका छन् ।














