काँकडभिट्टा-प्रहरीले झापाको काँकडभिट्टा नाकाबाट हतियारसहित एक जना भारतीय नागरिकलाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा भारतको जलपाईगुडीका प्रतिक अग्रवाल रहेका छन् ।
अग्रवाललाई सशस्त्र र नेपाल प्रहरीको संयुक्त गस्ती टोलीले काँकडभिट्टा नाकाबाट नियन्त्रणमा लिएको जिल्ला प्रहरी कार्यालय झापाले जनाएको छ । अग्रवालले प्रयोग गरेको स्कुटीको डिकीभित्र लुकाइएको पेस्तोल एक थान र त्यसमा प्रयोग हुने १८ थान गोली प्रहरीले बरामद गरेको छ ।
आज बिहान ८:५० बजे मेचीनगर–६ स्थित मेची भन्सार परिसरमा सुरक्षा जाँच गर्ने क्रममा अग्रवाल पक्राउ परेका हुन् । उनले चलाएर ल्याएको WB 74 AJ 0400 नम्बरको होण्डा कम्पनीको स्कुटर जाँच गर्दा हतियार फेला परेको थियो ।
प्रहरीले उनको कलेजी रङ्गको स्कुटरको डिकीभित्र लुकाएर राखेको अवस्थामा १ थान एयर पेस्तोल (Air Pistol) बरामद गरेको छ । उनले बोकेको घ्यू रङ्गको छालाको साइड ब्यागभित्र प्लास्टिकमा पोको पारेर राखिएको सोही हतियारमा लाग्ने १८ थान मेटल बुलेट (गोली) समेत बरामद गरिएको प्रहरीले जनाएको छ।
हतियारसहित पक्राउ परेका उनलाई नियन्त्रणमा लिई थप अनुसन्धानका लागि इलाका प्रहरी कार्यालय काँकरभिट्टामा राखिएको छ । घटनाबारे थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय झापाले जानकारी दिएको छ ।














