६ माघ २०८२, सोमबार | Tue Jan 20 2026

सहकारीमा ५ लाख सम्मको निक्षेप सुरक्षित गर्न सरकारी कोष



झापा-लाखौँ नेपालीको आशा र भरोसाको केन्द्र बनेका सहकारी संस्थामा आफ्नो जीवनभरको कमाई जम्मा गरेका बचतकर्ताका लागि सरकारले ठूलो राहत प्याकेज घोषणा गरेको छ ।

आगामी आर्थिक वर्षको बजेटमार्फत अर्थमन्त्री विष्णु पौडेलले सहकारी क्षेत्रका तमाम समस्यालाई सम्बोधन गर्दै बचतकर्ताको हित संरक्षणलाई उच्च प्राथमिकतामा राखेका छन् ।

अब कर्जा तथा निक्षेप सुरक्षण कोषको छातामुनि सहकारीका प्रत्येक बचतकर्ताको ५ लाख रुपैयाँसम्मको निक्षेप सुरक्षित हुने भएको छ । साना तथा मझौला बचतकर्तालाई ठूलो मनोवैज्ञानिक आडभरोसा प्रदान गर्नेछ ।

विभिन्न कारणले समस्यामा परेका वा बन्द भएका सहकारीका बचतकर्ताको आँसु पुछ्न सरकार आफैँ अघि सरेको हो । यस्ता पीडित बचतकर्ताहरूको रकम फिर्ता गर्ने प्रक्रियालाई सहज र विश्वसनीय बनाउन विशेष बचत फिर्ता कोषको स्थापना गरिने भएको छ ।

कोषलाई गतिशील बनाउन सरकारले नै प्रारम्भिक बिउ पुँजी उपलब्ध गराउनेछ । सहकारी अभियानलाई दिगो, पारदर्शी र विश्वसनीय बनाउन सरकारले यसको वर्गीकरण पनि गर्नेछ ।

जानाजानी वा गलत नियतले सहकारीलाई धराशायी बनाई बचतकर्ताको रकम हिनामिना गर्ने प्रवृत्तिलाई निरुत्साहित गर्न बजेटले कडा नीति अख्तियार गरेको छ ।

समस्याग्रस्त सहकारीका बचतकर्ताहरूको डुबेको निक्षेप फिर्ता गराउन त्यस्ता सहकारीको चल–अचल सम्पत्ति मात्र नभई, गैरजिम्मेवार सञ्चालकको व्यक्तिगत सम्पत्ति समेत बिक्री गरेर भए पनि भुक्तानी दिने व्यवस्था सुनिश्चित गरिएको छ ।

प्रकाशित मिति : १६ जेष्ठ २०८२, बिहिबार ००:००  ७ : ३५ बजे