२ आश्विन २०८२, बिहिबार | Thu Sep 18 2025

डायलासिस सेवालाई देशव्यापी बनाउने ओमसाई पाथिभरा हस्पिटलको महत्त्वकाङ्क्षी योजना



सुब्रत न्यौपाने बिर्तामोड : मिर्गाैला रोगबाट संक्रमित भएका बिरामीलाई डायलासिस सेवा प्राप्त गर्न हम्मेहम्मे परिरहेका बेला झापाको भद्रपुरस्थित ओमसाई पाथिभरा हस्पिटलले आफ्नो सेवालाई देशव्यापी रुपमा विस्तार गर्ने महत्त्वकांक्षी योजना अघि बढाएको छ ।

डायलासिसमा मिर्गाैला रोगीको सहज पहुँच स्थापित गर्न ओमसाईले देशव्यापी रूपमा सेवा विस्तारको दीर्घकालीन योजना अघि सारेको हो । सेवा विस्तारको योजना अन्तर्गत दमक, इटहरी, लहान, बर्दिबास र काठमाडौँ लगायतका स्थानमा हेमो डायलासिस सेन्टर स्थापना गरिएका छन् ।

कतिपय डायलासिस सेन्टरहरू सञ्चालनमा आइसकेका छन् भने केही प्रक्रियामा रहेको अस्पताल प्रशासनले जनाएको छ । अस्पतालका प्रशासक मनोज दाहाल पूर्वी नेपालमा सबैभन्दा बढी डायलासिस मेसिन राखेर ओमसाई अस्पतालले सेवा दिइरहेको बताउँछन् ।

सेवा विस्तारको दीर्घकालीन लक्ष्यअनुसार डायलासिस सेवालाई देशव्यापी रुपमा विस्तार गर्ने अस्पतालको लक्ष्य रहेको प्रशासक दाहालले बताए । अहिले ओमसाई पाथिभरा हस्पिटलमा २२ वटा डायलासिस मेसिन सञ्चालनमा छन् ।

जर्मनबाट ल्याइएका ती मेसिन दैनिक तीन सिफ्टमा चलाइन्छ । डायलासिस मेसिनमार्फत दैनिक ६० जना मिर्गाैला पीडित बिरामीले उपचार सेवा प्राप्त गर्छन् । बिरामीको आउने जाने यातायात खर्चबाहेक अरु बाँकी सबै खर्च सरकारले व्यहाेर्छ ।

मिर्गाैलापीडित बिरामीले डायलासिस गर्दा अस्पताललाई कुनै शुल्क तिर्नु नपर्ने प्रशासक योगेन्द्र ढुंगानाले बताए । बिरामीलाई डायलासिस सेवा उपलब्ध गराएबापत सरकारले विपन्न नागरिक उपचार कोषमार्फत अस्पताललाई भुक्तानी दिँदै आएको छ ।

एकजना बिरामीकाे एकपटक डायलासिस गरेबापत सरकारले अस्पताललाई २ हजार ५०० रुपैयाँ भुक्तानी गर्छ । एकजना बिरामीलाई डायलासिस गर्न झन्डै चार घण्टा समय लाग्छ ।डायलासिसका क्रममा दुईजना बिरामी बराबर एकजना स्टाफ नर्स अनिवार्य रुपमा खटाउनुपर्ने व्यवस्था छ ।

२०७४ जेठदेखि दुईवटा मेसिनबाट अस्पतालले डायलासिस सेवा सुरु गरेको थियो । अहिले पूर्वी नेपालका अस्पतालमध्ये सबैभन्दा धेरै मेसिन आफूहरूसँग रहेको अस्पतालका अर्का प्रशासक राकेश सिंहले बताए । मिर्गौला रोगबाट पीडित भएका बिरामीलाई स्थानीय तहले समेत सहयोग उपलब्ध गराउँदै आएका छन् ।

प्रत्येक पालिकाले बिरामीलाई मासिक ५ हजार उपलब्ध गराउँछन् । स्थानीय तहले उपलब्ध गराउने सहयोग रकमले बिरामीलाई यातायात खर्च जुटाउन सहयोग पुग्दै आएको छ ।सातामा तीनपटकसम्म डायलासिस गराउनुपर्ने कतिपय बिरामीको बाध्यता छ ।

चिकित्सकले आवश्यकता अनुसार डायलासिस गराउने प्रशासक सिंहले बताए । साउनदेखि माघसम्म २२३ जना बिरामीले डायलासिस गराएका छन् । अहिले झापाका अरु अस्पतालमा समेत डायलासिस सेवा उपलब्ध हुन थालेपछि चाप केही घटेको छ ।

अहिले १६७ जना बिरामी नियमित डायलासिसमा छन् । १८ वर्षदेखि ८२ वर्ष उमेर समूहका बिरामीले डायलासिस गराउँदै आएको प्रशासक सिंहले बताए ।

प्रकाशित मिति : २३ फाल्गुन २०८१, शुक्रबार ००:००  १२ : ३४ बजे