झापा-मनसुनजन्य विपद्बाट हुन सक्ने जोखिम न्यूनीकरण र पूर्व तयारीका लागि झापामा ‘अभ्यास मनसुन-६’ सम्पन्न गरिएको छ ।
मेचीनगर-१३ र १४ स्थित निचाझोडा सिमसार क्षेत्रमा श्री नं. २१ वाहिनी अड्डाअन्तर्गत अरिदमन गण चारआली ब्यारेकको आयोजनामा संयुक्त विपद् प्रतिकार्य सिमुलेसन अभ्यास गरिएको हो । कार्यक्रममा नेपाली सेना, नेपाल प्रहरी, सशस्त्र प्रहरी बल, रेडक्रस तथा अन्य सरोकारवाला निकायको सहभागिता रहेको थियो ।
अभ्यासअन्तर्गत नदीजन्य विपद्मा खोज तथा उद्धार, हाईलाइन रोप रेस्क्यु, अन्डर वाटर रिभर रेस्क्यु तथा स्थानीय स्रोत–साधन प्रयोग गरी गरिने उद्धार कार्यको प्रदर्शन गरिएको थियो । विपद्पछिको राहत तथा पुनर्निर्माणसम्बन्धी अभ्याससमेत गरिएको आयोजकले जनाएको छ ।
यसअघि पहिलो चरणमा जिल्ला प्रशासन कार्यालयमा टेबल टप एक्सरसाइज (टीटीएक्स) तथा दोस्रो चरणमा फिल्ड ट्रेनिङ एक्सरसाइज (एफटीएक्स) सञ्चालन गरिएको थियो । फिल्ड अभ्यासका क्रममा विभिन्न विद्यालय र स्थानीय तहमा विपद् सचेतनामूलक कार्यक्रमसमेत सञ्चालन गरिएको सेनाले जनाएको छ ।
कार्यक्रम अवलोकनका लागि जिल्ला विपद् व्यवस्थापन समितिका पदाधिकारी, स्थानीय तहका जनप्रतिनिधि, सुरक्षा निकायका प्रमुख, विद्यार्थी तथा स्थानीयवासीको उपस्थिति रहेको थियो ।
















