१२ चैत्र २०८१, बुधबार | Wed Mar 26 2025

सगरमाथा संवादको तयारी तीव्र



काठमाडौँ- हिमालमा जलवायु परिवर्तनको असर न्यूनीकरणका लागि विश्वव्यापी ध्यानाकर्षण गराउने उद्देश्यसहित सरकारले आयोजना गर्न लागेको सगरमाथा संवादको तयारी तीव्र पारिएको छ ।

आगामी वर्ष जेठ २ देखि ४ गतेसम्म सगरमाथा संवाद काठमाडौँमा आयोजनागर्ने सरकारको तयारी छ । आइतबार प्रधानमन्त्री केपी शर्मा ओलीको अध्यक्षतामा सिंहदरबारमा बसेको तयारी बैठकले प्रधानमन्त्री ओलीको अध्यक्षतामा निर्देशक समिति गठन गर्ने निर्णय गरेको छ ।

निर्देशक समितिले संवादको समग्र व्यवस्थापनको मार्गदर्शनका लागि भूमिका खेल्नेछ । बैठकमा कार्यक्रम आयोजनाका लागि कार्यकारी समिति र सचिवालय गठन गर्ने निर्णय भएको वन तथा वातावरण मन्त्रालयका सहसचिव डा. महेश्वर ढकालले जानकारी दिनुभयो ।

संवाद कार्यक्रमका लागि छिमेकी मुलुक भारत, चीन तथा दक्षिण एसियाली मुलुकका राष्ट्रप्रमुख वा सरकार प्रमुखसहितलाई विशेष अतिथिका रूपमा आमन्त्रण गर्ने तयारी भएको छ ।

प्रकाशित मिति : २९ माघ २०८१, मंगलबार ००:००  १ : ०६ बजे