१५ बैशाख २०८२, सोमबार | Mon Apr 28 2025

खुल्ला छोड्दा सूचनाको दुरुपयोग भयो : मुख्यमन्त्री कार्की



विराटनगर- कोशी प्रदेशका मुख्यमन्त्री हिक्मतकुमार कार्कीले सूचनाको हकको नाममा अत्याधिक खुल्ला छोड्दा सूचनाको दुरुपयोग गर्ने क्रम बढेको बताउनु भएको छ।

आइतवार विराटनगरमा राष्ट्रिय सूचना आयोगले आयोजना गरेको कार्यक्रममा बोल्दै मुख्यमन्त्री कार्कीले सूचनाको हकलाई ठीक ढंगले सदुपयोग गर्नुपर्ने बताउनुभयो ।

संविधानले सूचनाको हक ग्यारेन्टी गरेपनि त्यसलाई सही ढंगले परिचालन गर्न तर्फ लाग्नुपर्ने उहाँले औँल्याउनु भयो।

सूचनाको हकले पारदर्शिता र जवाफदेहिता बढ्ने भएकाले यसतर्फ ध्यान दिँदै यसलाई राम्ररी प्रयोग गरेर अघि बढ्नुपर्ने मुख्यमन्त्री कार्कीले बताउनुभयो ।

कार्यक्रममा सूचना आयोगका प्रमुख आयुक्त सुरेश आचार्यले स्वच्छ रुपमा काम गर्नेहरूले डराउनु नपर्ने बताउनुभयो । उहाँले आयोगले अब अनावश्यक सूचना माग्नेसँग पनि छलफल गर्ने र उनीहरूलाई सतर्क गराउने तर्फ लाग्ने जानकारी दिनुभयो ।

आयुक्त गगन बिष्टले सूचना ज्ञान र शक्तिको स्रोत भएकाले यसलाई सदुपयोग गर्नुपर्ने बताउनुभयो । उहाँले कार्यपत्र प्रस्तुत गर्दै सूचनाको विविध आयामका बारेमा प्रकाश पार्नुभएको थियो ।

कोशी प्रदेशका प्रमुख सचिव केदारनाथ शर्माले सूचना लिने र दिनेका बीच नियत राखेर काम गरेमा समस्या उत्पन्न हुने चर्चा गर्दै एकअर्काले सूचना आदान प्रदान गरेमा सहज हुने बताउनुभयो।

कार्यक्रममा आयोगका सचिव कमल भट्टराईलगायतले धारणा राख्नु भएको थियो । राष्ट्रिय सूचना आयोगले प्रदेशमा रहेका कार्यालय प्रमुख, सूचना अधिकारीहरुसँग आज छलफल कार्यक्रम गरेको हो ।

प्रकाशित मिति : १३ माघ २०८१, आइतबार ००:००  ३ : २३ बजे