झापा- ताप्लेजुङको पाथीभरा मन्दिर क्षेत्रमा भएको झडपमा परेर घाइते भएकालाई आइतबार दिउँसो विराटनगरबाट थप उपचारका लागि काठमाडौं पठाइएको छ । शनिबारको झडपमा आन्दोलनकारी र सुरक्षाकर्मी गरेर २६ जना घाइते भएका थिए ।
तीमध्ये तीनजनालाई थप उपचारका लागि आइतबार बिहानै विराटनगरको नोबेल शिक्षण अस्पताल लगिएको थियो । नोबेलबाट थप उपचारका लागि काठमाडौँ पठाएको मोरङका प्रमुख जिल्ला अधिकारी इन्द्रदेव यादवले बताउनु भयो ।
तेह्रथुमको म्याङलुङ नगरपालिका–९ का यामबहादुर लिम्बू, पाँचथरको मिक्लाजुङ गाउँपालिका–५ का सुगन लावती र ताप्लेजुङको फुङलिङ नगरपालिका–८ का धर्म पालुङ्वालाई थप उपचारका लागि काठमाडौं पठाइएको हो ।
घाइतेहरूलाई नेपाली सेनाको स्काई ट्रकमार्फत काठमाडौं पठाइएको जानकारी प्रजिअ यादवले बताउनु भयो । घाइतेमध्ये सगुन र यामबहादुरलाई गोली लागेको हो ।
सगुनको छात्तीमा र यामबहादुरको तिघ्रामा गोलीले लागेको पाइएको जानकारी यादवले दिनुभयो । उहाँका अनुसार धर्मको कुमको हड्डी भाँचिएको छ ।
ताप्लेजुङको फुङलिङ नगरपालिका–११ बलुडाँडास्थित पाथीभरा क्षेत्रमा पहिचान पक्षधर र प्रहरीबीच शनिबार दुईपटक झडप भएको थियो । झडपमा पाँचजना आन्दोलनकारी र २१ जना सुरक्षाकर्मी घाइते भएको प्रदेश प्रहरी कार्यालय विराटनगरले जनाएको छ ।