मोरङ-कोशी प्रदेशका मुख्यमन्त्री हिक्मतकुमार कार्कीले एउटा मन्त्रालयबाट अर्को मन्त्रालयमा सहमतिका लागि गएको फाइल नअड्काउन निर्देशन दिनुभएको छ ।
मुख्यमन्त्री कार्कीले दुई दिनदेखि पाँच दिनभित्र सहमतिका गएको फाइलको टुङ्गो लगाइसक्न निर्देशन दिनुभएको हो ।
प्रदेश सरकारको आर्थिक वर्ष २०८१-८२ को अर्धवार्षिक समिक्षा कार्यक्रममा बोल्दै मुख्यमन्त्री कार्कीले सहमतिका लागि पठाइएका फाइलहरु अड्किँदा काम ढिलो भएको बताउनुभयो ।
कम्तीमा हप्तामा तीनदेखि चारदिन मन्त्री र सचिवलाई सँगै बसेर मन्त्रालयको काम गर्न पनि मुख्यमन्त्री कार्कीले अनुरोध गर्नुभयो ।
‘पर्फमेन्स देखाउँ र प्रभावकारी रुपमा काम गरौँ’, मुख्यमन्त्री कार्कीले भन्नुभयो, ‘शासकीय सुधारलाई पहिलो स्थानमा राख्न सकियो भने मात्रै परिणाममुखी नतिजा हासिल गर्न सकिन्छ ।’
माघ ७ गतेदेखि सुरु हुने प्रदेश सभाको अधिवेशनमा नयाँ विधेयक र संशाेधन गर्नुपर्ने ऐनपनि छिटो पेश गर्ने गरी तयारी गर्न मुख्यमन्त्री कार्कीले मन्त्रीहरुलाई निर्देशन दिनुभयो ।
प्रमुख सचिव केदारनाथ शर्माले मन्त्रालयहरुले समयसीमा अनुसार काम गर्नु पर्नेमा जोड दिनुभयो । ‘एकै पटक नियमावली र कार्यविधि ल्याएर काम गर्ने कुरा ठीक भएन’, शर्माले भन्नुभयो, ‘पूँजीगत खर्च कसरी बढाउन सकिन्छ त्यसमा लाग्नु पर्छ ।’