१६ जेष्ठ २०८३, शनिबार | Sat May 30 2026

विभिन्न पार्टीका कार्यकर्ता माओवादी केन्द्रमा प्रवेश



बिर्तामोड- जनता समाजवादी पार्टी नेपालको युवा संगठन समाजवादी युवा संघ नेपालका प्रदेश अध्यक्ष टाइसन केरुङसहित विभिन्न पार्टीका कार्यकर्ता माओवादी केन्द्रमा प्रवेश गरेका छन् । माओवादी केन्द्र प्रदेश कमिटीले शनिवार बिर्तामोडमा कार्यक्रम आयोजना गरी नवप्रवेशीलाई पार्टीमा स्वागत गरेको छ ।

पार्टी प्रवेश गर्नेमा समाजवादी युवा संघ नेपालका प्रदेश अध्यक्ष केरुङसहित प्रदेश उपाध्यक्ष दीपेन लिम्बु, सहसचिव दीपेन जबेगु, प्रदेश सदस्य तेन्जिङ लामा, नेपाली कांग्रेसका पूर्व महासमिति सदस्य राजभक्त योङ्ग्या, नेकपा एमाले झापाका पूर्व जिल्ला कमिटी सदस्य छवि गहतराज, महिला उद्यमी जय सुब्बा, नर्वदा कार्की लगायत छन ।

योङ कम्युनिस्ट लिग वाइसीएलको पहलमा कोशी प्रदेशका जिल्लाबाट युवाहरू माओवादी केन्द्रमा प्रवेश गरेका हुन् । पार्टी प्रवेश कार्यक्रममा बोल्दै केरुङले आफूसँगै समाजवादी युवा संघ नेपालको सिङ्गो कमिटी माओवादीमा प्रवेश गरेको बताए ।

कार्यक्रमका प्रमुख अतिथि माओवादी केन्द्रका उपमहासचिव हरिबोल गजुरेलले झापामा २०६४ सालको अवस्था आउने बताए । माओवादी जनयुद्धको नेतृत्व पश्चिमले गरेको बताउँदै अब समाजवादी क्रान्तिको नेतृत्व पूर्वले गर्ने उनले उल्लेख गरे ।

२०७० सालमा संविधानमा माओवादीका एजेण्डा स्थापित हुन नदिन कांग्रेस र एमालेले सरकार बनाएको उनले स्मरण गरे ।सबै माओवादी घटक एक ठाउँमा उभिने अवस्था आएको भन्दै उनले पार्टी र नेतृत्व कमजोर नहुने दाबी गरे ।

पार्टीका केन्द्रीय सदस्य तथा प्रदेश संसदीय दलका नेता इन्द्रबहादुर आङ्बो मौसमले मुलुकको राजनीतिक परिवर्तन माओवादीकै कारण भएको बताए ।

प्राप्त उपलब्धिको रक्षा गर्ने दायित्व पार्टीको रहेको बताउँदै उनले माओवादीलाई घेराबन्दी गर्न कांग्रेस एमालेले मध्यरातमा सहमति गरेको बताए ।

पार्टीका प्रदेश अध्यक्ष हर्कबहादुर नेम्बाङ मिक्सोले यो पार्टी प्रवेश कार्यक्रम कास्टिङ मात्र भएको बताउँदै कांग्रेस एमालेका केन्द्रीय तहका नेतासहित ठूलो पंक्ति माओवादी केन्द्रमा प्रवेश गर्ने तयारीमा रहेको खुलासा गरे ।

प्रदेश उपाध्यक्ष विजय साम्पाङले सञ्चालन गरेको कार्यक्रममा पार्टीका केन्द्रीय सदस्य हरिकुमार राना, सदस्य धर्मशिला चापागाईं, झापा संयोजक राजु आचार्य अग्नि, वाइसीएलका केन्द्रीय सचिव डम्बर पुलामी लगायतले नव प्रवेशीलाई पार्टीमा स्वागत गरेका थिए ।

प्रकाशित मिति : २० श्रावण २०८१, आइतबार ००:००  ९ : ०० बजे