१६ जेष्ठ २०८३, शनिबार | Sat May 30 2026

प्रभु बैंक बिर्तामोडबाट ग्राहकको १ करोड भन्दाबढी रकम गायब : छानबिनका लागि केन्द्रीय टोली आउँदै



झापा-झापाको बिर्तामोडस्थित प्रभु बैंकमा डिपोजिट गरिएको १ करोड १० लाख रुपैयाँ भन्दाबढी रकम गायब भएपछि उक्त बैंकको बैंकिङ कारोबारको विश्वसनीयतामा गम्भीर प्रश्न उठेको छ । बैंककी ग्राहक मञ्जुकुमारी नेपालले छ महिनाअघि उक्त बैंकमा फिक्स डिपोजिट राखेकी थिइन् ।

डिपोजिटको समय अवधि सकिएपछि निकाल्न जाँदा आफ्नो खाताको रकम गायब भएको भेटिएको पीडित मञ्जुका श्रीमान पत्रकार टीकाराम नेतिले बताए । बैंकमा भएको आफ्नो खाताबाटै रकम गायब भएपछि पीडित पक्षले पत्रकार सम्मेलन गरी न्यायका लागि सार्वजनिक अपिल गरेको छ ।

सर्वसाधारणले बैंकमा जम्मा गरेको रकम सुरक्षित छैन भन्ने यो घटनाले देखाएको अधिवक्ता स्वागत नेपाल बताउँछन् । ‘बैंकको वित्तीय कारोबारकाे विश्वसनीयतामा गम्भीर प्रश्न उठेको छ’, अधिवक्ता नेपालले भने, ‘यसमा कर्मचारी लगायत बैंककै शाखाको मिलेमतो हुन सक्छ । गम्भीर अनुसन्धान गरी पीडितले न्याय पाउनुपर्छ।’

बैंक निकट स्रोतका अनुसार बैंकबाट उक्त रकम गायब हुनुमा केही कर्मचारीको मिलेमतो देखिएको छ । मार्केटिङ म्यानेजर भनिएका बैंकका कर्मचारी प्रमोद सिटौलाकाे प्रत्यक्ष चलखेलमा उक्त रकम गायब भएको देखिएको बैंक निकट स्रोतले जनाएको हो । बैंक कर्मचारी गोमा घिमिरे पनि मुछिएकी छन् ।

आफ्नो श्रीमतीको खाताबाट रकम गायब भएको खुलेपछि पत्रकार नेतिले जिल्ला प्रहरी कार्यालय झापामा प्रभु बैंक, यसका शाखा म्यानेजर गणेशबहादुर बराल र मार्केटिङ म्यानेजर सिटौलाविरुद्ध उजुरी दिएका छन् ।

घटनापछि सिटौला फरार भएको जनाइएको छ । उनका दुईवटै मोबाइल स्विच अफ छन् । सामाजिक सञ्जाल फेसबुक पनि डिएक्टिभ गरिएको छ । उनी बुधबार बिहानदेखि बेपत्ता भएका हुन् ।

बैंकका म्यानेजर गणेशबहादुर बरालले घटनाका विषयमा छानबिन हुने र यसका लागि केन्द्रीय कार्यालयको टोली बिहीबार झापा आउन लागेको जानकारी दिए । उनले आफ्ना कर्मचारीको बदमासी देखिएको बताए ।

प्रकाशित मिति : १७ श्रावण २०८१, बिहिबार ००:००  १ : ०८ बजे