१२ चैत्र २०८१, बुधबार | Thu Mar 27 2025

सेनाको हेलिकप्टर सम्भावित दुर्घटनास्थल नजिकै अवतरण




बिर्तामोड- त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल नागरिक उडड्यन प्राधिकरणले सम्पर्कविहीन ९ एन एइटी कलसाइनको तारा एयरको विमान खोज्न उडेको नेपाली सेनाको हेलिकप्टर सम्भावित दुर्घटनास्थल नजिकै अवतरण गरेको जानकारी दिएको छ।

प्रतिकुल मौसम भएपनि सेनाको हेलिकप्टर पहिलो पटक त्यस क्षेत्रमा अवतरण गरेको जनाइएको छ। हेलिकप्टर अवतरण गरेर खोजी कार्य गरिरहेको छ।

त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल नागरिक उडड्यन प्राधिकरणका महाप्रबन्धक प्रेमनाथ ठाकुरले नेपाली सेनाको हेलिकप्टर १० जना सैनिक र दुई जना प्राधिकरणका कर्मचारीसहित नर्सिङ गुम्बा नजिकैको खोलाको किनारमा अवतरण गराइएको जानकारी दिए।

‘भर्खरै नेपाली सेनाको एउटा हेलिकप्टर नर्सिंग गुम्बा नजिकैको खोला किनारमा अवतरण गर्न सफल भएको छ, उनले भने, ‘यसअघि पठाइएका हेलिकप्टर खराब मौसमका कारण अवतरण गर्न सकेको थिएनन्।

उनका अनुसार सम्पर्कविहीन जहाजका क्याप्टेन प्रभाकर घिमिरेको मोबाइलमा रिंगटोन गइरहेको र नेपाल टेलिकमबाट त्यसलाई ट्रयाकिङ गर्दा उक्त मोबाइल नार्सिङ गुम्बाको आसपासमा रहेको अनुमानमा भरमा नेपाली सेनाको हेलिकप्टर त्यही अवतरण गरेको हो।

‘खोजी कार्यका लागि हामीले पैदल मार्ग हुदै नेपाली सेना र नेपाल प्रहरीलाई पनि पठाएका छौं’, ठाकुरले भने। उनले यसअघि पठाएका हेलिकप्टरहरु खराब मौसमका कारण अवतरण गर्न नसकेको पनि बताए।

पोखराबाट जोमसोमका लागि आज बिहान ९ बजेर ५५ मिनेटमा उडेको तारा एयरको ९ एन एइटी कलसाइनको टुइ अटर सम्पर्कविहीन छ। चालक दलसहित २२ यात्रुहरु रहेको उक्त विमान निर्धारित समय अनुसार १० बजेर १५ मिनेटमा जोमसोम विमानस्थलमा अवतरण गर्नुपर्ने थियो।

क्याप्टेन प्रभाकर घिमिरेको कमाण्डमा उडेको उक्त विमानको चालक दलका अन्य सदस्यमा को पाइलट उत्सव पोखरेल र एयर परिचारिका किस्मी थापा छिन्। विमानमा चालक दलका सदस्यबाहेक १९ जना यात्रुहरु सवार छन्।

प्रकाशित मिति : १५ जेष्ठ २०७९, आइतबार ००:००  २ : ५२ बजे