७ माघ २०८२, मंगलबार | Tue Jan 20 2026

आन्तरिक जनवादले जन्माएका जिज्ञासा




सरकारले स्थानीय तह निर्वाचनको मिति घोषणा गरेपछि राजनीतिक दलहरु चुनावी तयारीमा व्यस्त देखिएका छन् । यद्यपि, निर्वाचन सर्ने राजनीतिक वृत्तमा चलेको हल्लाले धेरैलाई पिरोलेको पनि छ। अनेकौं संशयका बीच दलहरु स्थानीय तहका उम्मेदवार छान्ने प्रारम्भिक प्रयास र कसरतमा छन्। सम्भावित उम्मेदवारको आँकलन जनताले गरेकै हुन्, त्यसमाथि पनि पार्टीहरु कार्यकर्ताको अभिमत बुझिरहेका छन् ।

टोल हुँदै वडा कमिटी र गाउँ तथा नगर कमिटीको बलियो संरचनागत आधार बनाएको नेकपा एमाले उम्मेदवार छान्ने प्रारम्भिक प्रक्रियाको प्रयासमा पहिलो जस्तो देखिन्छ। झापाका सन्दर्भमा एमालेले आन्तरिक जनवादको प्रयोग भन्दै कार्यकर्ताको अभिमत बुझेर को पहिलो, को दोस्रो र को तेस्रो भन्ने पनि छुट्यायो ।

यसो गर्नु हुन्थ्यो कि हुँदैन थियो, त्यो एमाले जानोस् । एमालेका कैयौं नेता कार्यकर्ताले आफूहरूको मतभारका आधारमा पहिलो भएकाहरु गाउँ वा नगरको उम्मेदवार पक्का भएका हुन् भनेर बुझेका छन्।

कार्यकर्ताको यो बुझाईको पृष्ठभूमिका बीच नेकपा एमालेको जिल्ला कमिटीले शनिबार अपराह्न जारी गरेको विज्ञप्तिले धेरै नेता कार्यकर्तालाई पार्टीको नेतृत्व पंक्तिले आफूहरूको अभिमतलाई अवमूल्यन गर्न चाहेको रुपमा बुझेका छन्, भलै उनीहरु व्यक्तिगत वा सामूहिक रूपमा आफ्नो असन्तुष्टि प्रकट गर्ने, आलोचना र टिप्पणी गर्ने अवस्थामा देखिँदैनन्। पार्टी अनुशासनको गठिलो डोरी उनीहरूको घाँटी नजिकै छ, जुन डोरी जुनसुकै बेला अझ धेरै कसिलो हुनसक्छ ।

आफ्नै नेता कार्यकर्ताको मताधिकारमार्फत सम्भावित उम्मेदवारको चयन भइरहँदा एमालेले त्यसलाई आधिकारिक मान्न नसकिने जुन किसिमको वक्तव्य सार्वजनिक गरेको छ, यसले अनेक किसिमका जिज्ञासा उत्पन्न गराएको छ। ‘आधिकारिक’ भन्ने शब्दको प्रयोगले खडा गरेका राजनीतिक प्रश्नको उत्तर तत्काल वा अहिलेको परिस्थितिमा प्राप्त भइहाल्छ भन्ने पनि छैन् ।

पहिलो विषय वडा, गाउँ वा नगर कमिटीहरु नेकपा एमालेका आम कार्यकर्ताको बीचबाट गठन भएका हुन् भन्ने कुरा घाम जस्तै छर्लङ्ग छ, हुनुपर्छ। यसमा कुनै संशय छैन भने कमिटीमा रहेकाहरूले जायर गरेको मत वा धारणा माथिल्लो कमिटीको निर्णय सहजताका लागि पहिलो र निशर्त आधार हो ।

कार्यकर्ताको अभिमत वा धारणालाई रद्दीको टोकरीमा मिल्काएर अनुकूलता अनुसारको नेतृत्व स्थापित गर्ने महत्वकांक्षा राख्ने हो भने त्यसले पार्टीको विद्यमान संरचनालाई सधैँका लागि फेरि कमजोर र धरासायी बनाउने निश्चित छ ।

दोस्रो विषय, यति भनिरहँदा कार्यकर्ताको अभिमतले उम्मेदवारको लोकप्रियता र आवश्यकतालाई महसुस गरेको छैन् भनेर बुझ्ने र बुझाउने परम्परागत दलीय संस्कार र पद्दतिमाथि प्रश्न पनि दोहोरिन्छ ।

तेस्रो सन्दर्भ, पार्टीले उम्मेदवार चयन गर्ने सन्दर्भमा अवलम्बन गर्ने विधिहरु अनेकौं हुन सक्छन् । तर, नेतृत्वको अनुकूलतामा मात्रै त्यस्ता विधिको व्याख्या, विश्लेषण, संश्लेषण वा टिप्पणी भयो भने त्यसले पार्टीलाई झन् विध्वंशको दिशातर्फ धकेल्छ। चुनाव मुखमा आफ्नै आधारशीला कमजोर बनाउने छुट एमालेले स्वीकार गर्ला र ?

अहिलेको सन्दर्भ भनेको स्थानीय तहमा पार्टीबाट निर्वाचित हुन सक्ने उम्मेदवारको चयन हो । हिजो स्थानीय तहमा काम गरेर अनुभव सँगालेका, पार्टी कार्यकर्ताको बीचमा लोकप्रियता हासिल गरेका, अनेकौँ विवाद र उल्झनबाट टाढा रहेका र इमान्दारिताको कसिमा उभिएका एमालेका निष्ठावान नेता कार्यकर्ता पहिलो प्राथमिकतामा पर्नुपर्छ भन्नेमा कोही कसैले दुविधामा पर्नु हुँदैन।

यति भनिरहँदा, नेकपा एमालेले पार्टीपंक्तिको आधारभूत तहबाट ‘जान अन्जान’ मा प्रकट भएको अभिमतलाई अस्वीकृत गर्ने चेस्टा गर्नु हुँदैन भन्ने हो। उम्मेदवार यो वा त्यो हुन्छ भन्ने प्रश्न गौण हो । प्रश्न यो हो, कार्यकर्ताले रुचाएको नेता स्थानीय तहको उमेद्वार हुन्छ कि हुँदैन ? वा पार्टीको विधि, पद्धति र मापदण्डको ‘आधार बहाना’ मा ठूला नेताकै वरिपरि घुम्ने, गुणगान गाउने र थपडी बजाउने छानिन्छन् ?

प्रकाशित मिति : २७ चैत्र २०७८, आइतबार ००:००  १० : ०३ बजे