काठमाडौँ– उच्च शिक्षामा गुणस्तर कायम गर्न विश्व बैँकले नेपाललाई सात अर्व रुपैयाँ सहुलियपूर्ण ऋण उपलब्ध गराउने भएको छ । ‘नेपालको उच्च शिक्षामा विशिष्टताको प्रवद्र्धन कार्यक्रम’ का लागि बैँकले ६० मिलियन अमेरिकी डलर ऋण सहायता उपलब्ध गराउन लागेको हो ।
बिहीबार अर्थ सचिव मधुकुमार मरासिनी र विश्व बैँकका तर्फबाट नेपालसहित माल्दिभ्स र श्रीलंकाका लागि कन्ट्री डाइरेक्टर फारिस हदाद–जेर्भोसले ऋण सहायता सम्वन्धी सम्झौतापत्रमा हस्ताक्षर गरेका छन् ।
कार्यक्रमले नेपालको उच्च शिक्षामा सुधार गर्न, सिकाइमा सूचना–प्रविधिको प्रयोग बढाउन र पिछडिएका तथा जोखिममा रहेका विद्यार्थीलाई शैक्षिक संस्थासम्मको पहुँच बढाउन सहयोग पुग्ने विश्वास गरिएको छ ।
कार्यक्रमले बजारको माग अनुसार, दक्ष जनशक्ति उत्पादनका लागि नेपालका विभिन्न विश्वविद्यालयबाट पिछडिएका र विभिन्न कारणले उच्च शिक्षा प्राप्त गर्नबाट वञ्चित हुने विद्यार्थीलाई छात्रवृत्ति प्रदान गरिने जनाइएको छ ।