१९ बैशाख २०८१, बुधबार | Thu May 2 2024

१० हजार महिलाको पाठेघर परीक्षण गर्ने पूर्वाञ्चल क्यान्सर अस्पतालको घोषणा



बिर्तामोड– झापाको बिर्तामोडमा रहेको पूर्वाञ्चल क्यान्सर अस्पतालले १० हजार महिलाको पाठेघर क्यान्सरको निशुल्क परीक्षण गरिदिने लक्ष्य लिएको छ । पहिलो चरणमा एक हजार महिलाको परीक्षण गरिने भएको हो ।

अस्पतालका सिइओ डा निराजन प्रसाईले आज आयोजित पत्रकार भेटघाटमा उक्त जानकारी गराउँदै निशूल्क परीक्षणसँगै १ लाखबराबरको उपचार खर्च पनि व्यहोर्ने बताएका छन् ।

‘महिलाको पाठेघरमा क्यान्सर रोगको जोखिम अत्याधिक छ’, डाक्टर प्रसाईले भने, ‘स्वास्थ्यको पहुँच नपुगेका महिलाको चेतना बढाउन पनि अस्पतालले निशुल्क परीक्षण गर्न लागेको हो ।’

अस्पतालले १ हजार गरिब परिवारको स्वास्थ्य बिमा गराउने योजना पनि अघि सारेको छ । महिलामा पाठेघर क्यान्सर, स्तन क्यान्सर र अण्डादानी क्यान्सरको स्थिति भयावह बन्दै गएको उल्लेख गर्दै डा प्रसाईले अस्पतालको सामाजिक उत्तरदायित्वअन्तर्गत दुवै योजना अघि सारिएको बताए ।

भदौ ६ गतेदेखि निशुल्क ओपीडी सञ्चालनसँगै २५ प्रतिशत छुटमा स्वास्थ्य सेवा उपलब्ध गराउने पनि जानकारी गराए । क्यान्सर पीडितलाई मध्यनजर गर्दै आउँदो सातादेखि अन्को फुड सर्भिस सुरु गर्ने योजना पनि सुनाए ।

थपिए सर्जन चिकित्सक
अस्पतालले क्यान्सर रोग उपचारका लागि दुई जना सर्जन चिकित्सक थप गरेको जनाएको छ । भरतपुर क्यान्सर अस्पतालमा १२ वर्षदेखि सर्जनका रुपमा कार्यरत डा मुक्ति देवकोटा र क्यान्सर रोगकै नाक, कान र घाँटीका सर्जन डा बजरंग शाह पूर्वाञ्चल क्यान्सर अस्पतालमा जोडिएका हुन् । अब सबै प्रकारको क्यान्सरको सर्जरी यहीबाट हुने डा. देवकोटाले बताए ।

डा. शाहले नाक, कान र घाँटी सम्वेदनशील अंग भएकाले यसलाई छुट्टै विभागको रुपमा छुट्टाएर उपचार सुरु गरिएको सुनाए । अस्पतालका मेडिकल डाइरेक्टर डा वीरेन्द्र यादवले पूर्वाञ्चल क्यान्सर अस्पतालको नारा मुस्कुराउँछ नयाँ जीवन भनेझैँ अब टिमले काम गरिरहेको भन्दै खुसी व्यक्त गरे ।

विपन्न नागरिक कोष सञ्चालन गरिसकेको अस्पतालले ५४० जनालाई सेवा दिइसकेको अस्पतालका जनसम्पर्क अधिकारी प्रमिश गिरीले जानकारी दिए । यसअघि ३०० जनाको स्वास्थ्य बिमा गरिएको बताउँदै उनले पहिलोपटक अर्जुनधाराबाट छनोट गरिएका ५० जना विपन्नलाई सेवा दिन लागिएको जानकारी दिए ।

प्रकाशित मिति : ३२ श्रावण २०७८, सोमबार ००:००  १२ : ५३ बजे