१२ जेष्ठ २०८३, मंगलबार | Tue May 26 2026

२५ हजार मत ल्याएर जित्ने भट्टराईको दावी



बिर्तामोड– प्रतिनिधिसभा सदस्यका लागि झापा क्षेत्र नम्वर–२ बाट स्वतन्त्र उमेद्वारी दिएका कुमार भट्टराईले आफ्नो पक्षमा चुनावी माहोल बन्दै गएको बताउँदै २५ हजार भन्दाबढी मत ल्याएर निर्वाचन जित्ने दावी गरेका छन् ।

ट्युवेल चुनाव चिन्ह पाएका भट्टराईले सोमवार बिर्तामोडमा पत्रकार सम्मेलन गरी आफ्नो जीत सुनिश्चित भएको जिकिर गरेका हुन् । उनले आफू अरुको आलोचना गर्ने भन्दा पनि आफ्नो प्रचार अभियानमा केन्द्रीत भएको बताए ।

राप्रपा हुँदै काङ्ग्रेसको राजनीतिमा सक्रिय भट्टराई व्यवसायिक क्षेत्रका अगुवा हुन् । पार्टीले टिकट नदिएपछि उनले स्वतन्त्रबाट उमेद्वारी दिएका छन् ।

काङ्ग्रेसले जित्ने बलियो आधार हुँदाहुँदै माओवादीलाई अगाडि सारिएपछि आफू स्वतन्त्ररुपमा निर्वाचनमा होमिएको भट्टराईले बताउँदै आएका छन् ।

उनले सबै वर्गका मतदाताको शुभेच्छा आफूलाई रहेको र त्यसैको बलमा निर्वाचन जित्ने बताएका छन् । उनले आफ्नो प्रतिवद्धता पत्र पनि सार्वजनिक गरेका छन् ।

पद र शक्तिको दुरुपयोग नगर्ने उनको पहिलो प्रतिवद्धता छ । सामाजिक सेवा र व्यवसायिक क्षेत्रमा लामो समय सक्रिय भट्टराई राखेका प्रतिवद्धता यस्ता छन् ।

‘विकास, समृद्धि र समानताका लागि हाम्रो अभियानः जवाफदेही संसद् सदस्यका लागि ट्युवेल चिन्हमा मतदान’ भन्ने उनको नारा छ । उनले आफ्नो प्रतिवद्धता पत्रमा भनेका छन्– ‘पद र शक्तिको दुरुपयोग गर्दिन ।’

विधिको शासन भन्दा बाहिर गएर कुनै पनि निकाय र कर्मचारीलाई दबाब नदिने बताउँदै भट्टराईले महत्वपूर्ण मुद्दामा संवाद र छलफल गरी स्पष्ट दृष्टिकोण राख्ने बताए ।

उनले भने, ‘कुनै पनि मुद्दामा दोहोरो चरित्र प्रदर्शन गर्दिन । मतदाताको बलियो विश्वासको जगमा उभिएर भन्छु, राष्ट्र र राष्ट्रियताप्रति मेरो इमानदारिता सधैँ जाँच होस् । ’

प्रकाशित मिति : २१ कार्तिक २०७९, सोमबार ००:००  १० : २५ बजे