१५ कार्तिक २०८३, शनिबार | Sat Oct 31 2026

अर्जुनधारा जलेश्वरधामको जल कैलाशघाटमा पुर्‍याइने, कात्तिक १७ गते शिलान्यास



बिर्तामोड- झापाको अर्जुनधारा जलेश्वरधामको जल पाइपलाइनमार्फत स्थानीय कैलाशघाटमा पुर्‍याइने भएको छ । शव दहनपछि चिता पखाल्ने प्रयोजनका लागि जलेश्वरधामको जल कैलाशघाटसम्म पुर्‍याउन लागिएको हो ।

श्रम संस्कृति पार्टीको अग्रसरतामा जलेश्वरधाम व्यवस्थापन समिति र अर्जुनधारा कैलाश घाट मोक्ष जल व्यवस्थापन समितिसँगको छलफलपछि पाइपलाइन विस्तारको प्रक्रिया अघि बढाउन लागिएको हो । पाइपलाइनको शिलान्यास श्रम संस्कृति पार्टीका अध्यक्ष हर्क साम्पाङले कात्तिक १७ गते गर्ने कार्यक्रम तय भएको छ ।

यसअघि अध्यक्ष साम्पाङ अर्जुनधारा जलेश्वरधाम आएका बेला धामका कोषाध्यक्ष मनोज जोशीले जलेश्वरधामको जल कैलाश घाटसम्म पुर्‍याउने विषयमा श्रम संस्कृति पार्टीको ध्यानाकर्षण गराएका थिए । सोहीअनुसार पार्टीले स्थानीय कमिटीमार्फत पाइपलाइन विस्तारको पहल थालेको हो ।

अर्जुनधारा जलेश्वरधामदेखि कैलाशघाटसम्म करिब २ हजार ६ सय मिटर पाइपलाइन विस्तार गरिने जनाइएको छ । अर्जुनधारा कैलाशघाट मोक्ष जल व्यवस्थापन समितिका सहसंयोजक सुजन शिवाकोटीले सर्वपक्षीय चासो र सहकार्यका आधारमा यो काम अघि बढाइने बताए ।

श्रम संस्कृति पार्टीका केन्द्रीय सदस्य हिमालय कन्दङ्वाले जलेश्वरधामको जल कैलाश घाटमा पुर्‍याउने विषयमा पार्टी अध्यक्ष साम्पाङको विशेष चासो रहेको बताए । जलेश्वरधामको जलले चिता पखाल्दा मोक्ष प्राप्त हुने धार्मिक विश्वास रहेको उनको भनाइ छ ।

जलेश्वरधामका प्रमुख अर्चक अग्निप्रसाद सिग्देलका अनुसार धाममा अहिले पाँचवटा धारा निरन्तर सञ्चालनमा छन् । त्यहीँ नजिक छैटौँ धारा निर्माण गरी पञ्चधातुबाट बनेको गोमुखमार्फत कैलाशघाटमा जल पुर्‍याइनेछ । घाटमा तामाको ठूलो मोक्षघडा राखेर त्यहाँबाट चितास्थलसम्म जल पुर्‍याउने योजना रहेको उनले बताए ।

विसं २०५२ सालतिर धामका आचार्य पुष्पलाल निरौलाले कैलाशघाट नामकरण गरेको बताउँदै प्रमुख अर्चक सिग्देलले जलेश्वरधामको जलबाट चिता पखाल्ने व्यवस्था भएपछि घाटको धार्मिक महत्त्व थप बढ्ने विश्वास व्यक्त गरे । अहिले झापाका धेरैले कनकाई आर्यघाटमा शवको अन्त्येष्टि गर्दै आएका छन् ।

श्रम संस्कृति पार्टीका झापा जिल्ला अध्यक्ष केशव भण्डारीले श्रमदान र दाताको सहयोगमा पाइपलाइन निर्माण गरिने बताए । उनका अनुसार करिब १६ लाख रुपैयाँ लागत अनुमान गरिएको योजनालाई तीन महिनाभित्र सम्पन्न गर्ने लक्ष्य राखिएको छ ।

पार्टीले निर्माणका लागि आर्थिक सहयोग जुटाउन क्यूआर कोडसमेत सार्वजनिक गरेको छ । आर्थिक अवस्था कमजोर भए पनि दाता र शुभचिन्तकको सहयोगबाट आवश्यक रकम जुटाउने भण्डारीले बताए ।

प्रकाशित मिति : १५ कार्तिक २०८३, शनिबार ००:००  ८ : ४१ बजे