१५ कार्तिक २०८३, शनिबार | Sat Oct 31 2026

शिवसताक्षीमा ४० बालबालिकालाई निःशुल्क फुटबल प्रशिक्षण



शिवसताक्षी-झापाको शिवसताक्षीमा ४० बालबालिकालाई लक्षित गरी निःशुल्क ग्रासरुट फुटबल प्रशिक्षण सञ्चालन भइरहेको छ । शिवसताक्षी नगरपालिका-१० स्थित केएनके स्पोर्टिङ क्लबको आयोजनामा कात्तिक १० देखि सुरु भएको प्रशिक्षण २१ गतेसम्म सञ्चालन हुनेछ ।

१० वर्षमुनिका बालबालिकाको फुटबल प्रतिभा पहिचान र विकास गर्ने उद्देश्यले आयोजित प्रशिक्षणमा स्थानीय बालबालिकाको सहभागिता छ । उनीहरूलाई फुटबलका आधारभूत सीप, खेलका नियम, अनुशासन र सामूहिक सहकार्यबारे प्रशिक्षण दिइँदै आएको क्लबका सचिव निरकुमार बस्नेतले जानकारी दिए ।

प्रशिक्षणमा बल नियन्त्रण, पासिङ, ड्रिब्लिङ, सुटिङ, बल रिसिभ गर्ने तरिका र खेलमा खेलाडीको स्थानसम्बन्धी सीप सिकाइँदै छ । झापा-११ का खेलाडी मनिष योङहाङ र सन्दीप लिम्बुले प्रशिक्षण दिइरहेका छन् ।

क्लबका अध्यक्ष अर्जुन योङहाङका अनुसार स्थानीय बालबालिकालाई सानै उमेरदेखि फुटबलमा आकर्षित गरी भविष्यमा दक्ष खेलाडी उत्पादन गर्ने लक्ष्यसहित प्रशिक्षण सञ्चालन गरिएको हो ।

क्लबका उपाध्यक्ष पदम कुँवरले बालबालिकाको बढ्दो मोबाइल र टेलिभिजन प्रयोगलाई निरुत्साहित गर्दै उनीहरूलाई शारीरिक गतिविधिमा सक्रिय बनाउन पनि प्रशिक्षणले सहयोग गर्ने बताए ।

खेलकुदले बालबालिकाको शारीरिक तन्दुरुस्ती, आत्मविश्वास र सामूहिक भावनाको विकासमा योगदान पुर्‍याउने उनको भनाइ छ ।

क्लबका सल्लाहकार सदस्य मोहन योङहाङ तथा सल्लाहकारसमेत रहेका शिवसताक्षी नगरपालिकाका लेखा शाखा प्रमुख प्रकाश योङहाङले स्थानीयस्तरमै फुटबलको आधार तयार गर्न यस्ता कार्यक्रम प्रभावकारी हुने बताए ।

प्रकाशित मिति : १४ कार्तिक २०८३, शुक्रबार ००:००  ८ : ०५ बजे