१५ कार्तिक २०८३, शनिबार | Sat Oct 31 2026

अर्जुनधाराको वडास्तरीय भलिबल मंसिर ११ देखि



अर्जुनधारा-मौसमी प्रतिकूलता र प्राविधिक कारण देखाउँदै झापाको अर्जुनधारामा आयोजना हुने वडास्तरीय पुरुष भलिबल प्रतियोगिताको मिति सारिएको छ । कात्तिक १३ देखि १५ गतेसम्म सञ्चालन गर्ने तयारी गरिएको प्रतियोगिता अब मंसिर ११ देखि १३ गतेसम्म हुने भएको छ ।

नगर खेलकुद विकास समितिको आयोजना तथा अर्जुनधारा-६ को सहआयोजनामा हुने प्रतियोगिता लक्ष्मी माध्यमिक विद्यालयको खेलमैदानमा सञ्चालन हुनेछ । प्रतियोगितामा नगरका ११ वटै वडाका टोली सहभागी हुनेछन् ।

प्रतियोगिताको विजेताले ५१ हजार, उपविजेताले ३१ हजार र तृतीय हुने टोलीले १५ हजार रुपैयाँ पुरस्कार पाउनेछन् । प्रत्येक खेलका उत्कृष्ट खेलाडीलाई एक हजार ५०० रुपैयाँ प्रदान गरिनेछ ।

त्यस्तै, सर्वोत्कृष्ट खेलाडीले चार हजार तथा उत्कृष्ट स्पाइकर, सेटर, मिडल ब्लकर, उदियमान खेलाडी, प्रशिक्षक, डिफेन्डर र सर्भरले जनही दुई हजार ५०० रुपैयाँ पुरस्कार पाउने आयोजकले जनाएको छ ।

नगर खेलकुद विकास समितिका अध्यक्ष सुरेन्द्र धिमालका अनुसार प्रतियोगिताको उद्देश्य स्थानीय खेलप्रतिभाको पहिचान गर्दै नगरको प्रतिनिधित्व गर्न सक्ने प्रतिस्पर्धी टोली निर्माण गर्नु हो । प्रतियोगिता

सञ्चालनका लागि करिब चार लाख रुपैयाँ बजेट विनियोजन गरिएको समितिका सदस्यसचिव खगेन्द्र लिङ्देनले जानकारी दिए ।

प्रकाशित मिति : १४ कार्तिक २०८३, शुक्रबार ००:००  ७ : ३० बजे