१५ कार्तिक २०८३, शनिबार | Sat Oct 31 2026

हक्की प्रतियोगिता एक दिन सर्‍यो, शनिबारदेखि हुने



भद्रपुर– झापाको भद्रपुरमा आयोजना गरिएको प्रथम अन्तर्राष्ट्रिय हक्की प्रतियोगिता प्रतिकूल मौसमका कारण एक दिन पछाडि सरेको छ । शुक्रबारदेखि हुने भनिएको प्रतियोगिता अब शनिबारदेखि सुरु हुने भएको हो ।

मौसमी प्रणालीको प्रभावले झापासहितका जिल्लामा वर्षा भइरहेको र थप वर्षा हुन सक्ने अवस्थालाई ध्यानमा राख्दै प्रतियोगिताको मिति सारिएको आयोजक भद्रपुर नगर हक्की सङ्घले जनाएको छ ।

प्रतियोगिताका सल्लाहकार अनिल ढुंगानाले मौसम प्रतिकूल भएपछि सबैको आग्रहअनुसार प्रतियोगिता शनिबारदेखि सञ्चालन गर्ने निर्णय गरिएको बताए । प्रतियोगिता तीन दिनसम्म चल्नेछ ।

स्थानीय प्रशासनले समेत प्रतिकूल मौसमका कारण प्रतियोगिता प्रभावित हुन सक्ने भन्दै यसको सञ्चालन अवधि पुनर्विचार गर्न आयोजकलाई आग्रह गरेको थियो ।

भद्रपुर-९ स्थित पुहाँतु जनज्योति माध्यमिक विद्यालयको खेलमैदानमा हुने प्रतियोगितामा भारतका तीनसहित १० टोली सहभागी हुनेछन् । प्रतियोगिताको विजेताले दुई लाख र उपविजेताले एक लाख रुपैयाँ पुरस्कार प्राप्त गर्नेछन् ।

प्रकाशित मिति : १४ कार्तिक २०८३, शुक्रबार ००:००  ७ : २१ बजे