भद्रपुर-नेपालमा ओझेलमा परेको हक्की खेलको प्रवर्द्धन गर्ने उद्देश्यले झापाको भद्रपुरमा पहिलोपटक आयोजना हुन लागेको अन्तर्राष्ट्रियस्तरको हक्की प्रतियोगिताको मुख्य प्रायोजक चन्द्रगढी सामुदायिक वन उपभोक्ता समूह बनेको छ ।
भद्रपुर-९, पुहातुबारीस्थित पुहातु ज्योति माध्यमिक विद्यालयको खेलमैदानमा आगामी कात्तिक १३ देखि १५ गतेसम्म सञ्चालन हुने प्रतियोगिताका लागि समूहले पाँच लाख रुपैयाँ उपलब्ध गराउने सम्झौता भएको आयोजक भद्रपुर नगर हक्की संघले जनाएको छ ।
समूहका अध्यक्ष अनुज खतिवडाले संस्थाको वार्षिक योजनामा समावेश खेलकुद कार्यक्रमअन्तर्गत प्रतियोगितालाई सहयोग गरिएको बताए । समूहले मुख्य प्रायोजकका रूपमा प्रतियोगिताको सफल आयोजनामा भूमिका निर्वाह गर्ने उनको भनाइ छ ।
प्रतियोगितामा भारतका तीन, बंगलादेशको एक, नेपालका सात विभागीयसहितका टोली र आयोजकको एक गरी १२ टोली सहभागी हुनेछन् । प्रतियोगिता फाइभ-ए-साइड (५-ए-साइड) ढाँचामा सञ्चालन हुनेछ ।
प्रतियोगिताका लागि भद्रपुर नगरपालिकासहित विभिन्न सरकारी तथा गैरसरकारी संघसंस्था र प्रतिष्ठानले सहयोग गर्ने प्रतिबद्धता जनाएका छन् । प्रतियोगिताको तयारी अघि बढिरहेको संघका अध्यक्ष सरोज बस्नेतले जानकारी दिए ।
प्रतियोगिताको विजेताले दुई लाख रुपैयाँ नगदसहित शिल्ड र मेडल प्राप्त गर्नेछ भने उपविजेता टोलीले एक लाख रुपैयाँ नगदसहित शिल्ड र मेडल पाउनेछ ।
विजेतालाई प्रदान गरिने पुरस्कार रकम ओम साई पाथिभरा हस्पिटल, भद्रपुरका अध्यक्ष दीपक पोखरेलले सौजन्य गरेका हुन् । दोस्रो पुरस्कारको रकम झापा उद्योग वाणिज्य संघका कार्यवाहक अध्यक्ष तथा राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) भद्रपुर नगर समितिका अध्यक्ष राजकुमार राईले सौजन्य गरेका छन् ।
प्रतियोगिता सम्पन्न गर्न करिब ३० लाख रुपैयाँ खर्च हुने अनुमान गरिएको छ । बढ्दो लागूऔषध दुर्व्यसनबाट युवालाई जोगाउँदै खेलकुदमा आकर्षित गर्ने उद्देश्यसमेत प्रतियोगितासँग जोडिएको संघको सल्लाहकार समितिका संयोजक अनिल ढुंगानाले बताए ।
प्रतियोगिताले हक्की खेलप्रति खेलप्रेमीको ध्यान आकर्षित गर्नुका साथै यसको प्रवर्द्धनमा सहयोग पुग्ने आयोजकको अपेक्षा छ ।
यसैबिच, आइतबार नेपाल हक्की संघले पत्रकार सम्मेलन गरी प्रतियोगिताको तयारी र आगामी योजनाबारे जानकारी गराएको छ ।
भद्रपुर नगरपालिकाका प्रमुख गणेश पोखरेल, नेपाल हक्की संघकी केन्द्रीय महासचिव सुवर्णा श्रेष्ठ तथा वडा नम्बर ९ का अध्यक्ष राम दाहाललगायतको उपस्थितिमा भएको कार्यक्रममा प्रतियोगितासम्बन्धी हालसम्मका गतिविधि र आगामी कार्ययोजनाबारे जानकारी दिइएको थियो ।



















