२५ आश्विन २०८३, आइतबार | Sun Oct 11 2026

सुन्दर निचाझोडा वनद्वारा दुई पत्रकार सम्मानित



झापा– झापाको बिर्तामोड-७ स्थित सुन्दर निचाझोडा गोलधाप सामुदायिक वन उपभोक्ता समूहले पर्यटन प्रवर्द्धन र विकासमा योगदान पुर्‍याएको भन्दै दुई पत्रकारलाई सम्मान गरेको छ ।

समूहको ११औँ वार्षिक साधारण सभाका अवसरमा प्रतिदिन दैनिकका सम्पादक इन्द्रसिंह राजवंशी र आँगन एफएमका प्रबन्ध निर्देशक इन्द्रजीत मुखियालाई दोसल्ला, नगद र कदरपत्रसहित सम्मान गरिएको हो ।

सामुदायिक वन, यस क्षेत्रभित्र रहेको सहिद नेत्र पार्क तथा पर्यटकीय सिमसारको विकास, प्रचारप्रसार र पर्यटन प्रवर्द्धनमा पुर्‍याएको सहयोग, सकारात्मक भूमिका र निरन्तर योगदानको कदर गर्दै पत्रकारद्वयलाई सम्मान गरिएको समूहले जनाएको छ ।

समूहका अध्यक्ष कृष्णप्रसाद लिम्बूको अध्यक्षतामा भएको कार्यक्रममा बिर्तामोड नगरपालिकाकी प्रमुख पवित्रा महतारा प्रसाईँ र बिर्तामोड-७ का वडाध्यक्ष कृष्णप्रसाद खरेल अविरलले सम्मान प्रदान गरेका थिए ।

सोही अवसरमा समूहका ज्येष्ठ सदस्य डिल्लीराम भट्टराई, भक्तिप्रसाद उप्रेती र मानविर खड्कालाई दोसल्ला ओढाएर सम्मान गरिएको थियो । त्यसैगरी दामोदर न्यौपाने, दिलबहादुर लिम्बू, तुलसी सिटौला, बलबहादुर माबुहाङ, सुकजित लिम्बू र यदुजित नेपाललाई कदरपत्र प्रदान गरिएको थियो ।

साधारण सभामा अध्यक्ष लिम्बूले समूहको वार्षिक प्रगति प्रतिवेदन र कोषाध्यक्ष इश्वरा भट्टराईले आर्थिक प्रतिवेदन प्रस्तुत गरेका थिए ।

कार्यक्रममा नगर प्रमुख प्रसाईँ, वडाध्यक्ष खरेल, वडा सदस्य हेमलता विश्वकर्मा, वन उपभोक्ता महासंघ बिर्तामोडका अध्यक्ष राजन निरौला, समूहकी पूर्वअध्यक्ष तथा सल्लाहकार सदस्य रेनुका उप्रेती र लेखा संयोजक रामप्रसाद अधिकारीलगायतले शुभकामना मन्तव्य राखेका थिए ।

समूहका उपाध्यक्ष मंगलसिंह साँवाले स्वागत गरेको कार्यक्रमको सञ्चालन सचिव इन्दिरा अधिकारी बाँस्कोटाले गरेकी थिइन् ।

प्रकाशित मिति : २५ आश्विन २०८३, आइतबार ००:००  ९ : ०१ बजे