२५ आश्विन २०८३, आइतबार | Sun Oct 11 2026

चारपानेलाई हराउँदै सालबारी-मिलडाँडाले जित्यो भेट्रान्स फुटबलको उपाधि



झापा-आयोजक सालबारी-मिलडाँडा भेट्रान्स क्लबले प्रथम सालबारी-मिलडाँडा पुरुष नकआउट भेट्रान्स फुटबल प्रतियोगिताको उपाधि जितेको छ ।

अर्जुनधारास्थित देउनिया खेलमैदानमा शनिबार भएको फाइनलमा चारपाने युनाइटेड भेट्रान्सलाई २-१ गोलअन्तरले पराजित गर्दै आयोजकले उपाधि जितेको हो ।

जितसँगै आयोजकले एकलाख ११ हजार १११ रुपैयाँ पुरस्कार प्राप्त गर्दा उपविजेता चारपानेले ३१ हजार १११ रुपैयाँमा चित्त बुझायो ।

प्रतिस्पर्धात्मक खेलमा चारपानेले पहिलो हाफमै अग्रता बनाएको थियो । खेलको १९औँ मिनेटमा सुवास आङथुपोले फ्रिकिकमार्फत आकर्षक गोल गर्दै चारपानेलाई अघि बढाएका थिए । तर, आयोजकले दोस्रो हाफमा खेलमा फर्कँदै नतिजा आफ्नो पक्षमा पारेको हो ।

खेलको ५१औँ मिनेटमा आयोजकका सर्वाधिक गोलकर्ता खेम पोखरेलले बराबरी गोल गरे । निर्धारित समयको खेलपछि थपिएको अतिरिक्त समयमा प्रविण राईले निर्णायक गोल गर्दै आयोजकलाई उपाधि दिलाए ।

फाइनल खेलमा उत्कृष्ट प्रदर्शन गरेका आयोजकका दीपक श्रेष्ठ प्लेयर अफ द म्याच घोषित भए । उनले तीन हजार रुपैयाँ पुरस्कार पाए ।

प्रतियोगितामा व्यक्तिगत विधातर्फ आयोजकका खेम पोखरेल सर्वाधिक गोलकर्ता, किरण जवेगु उत्कृष्ट गोलकिपर, प्रकाश मेचे उत्कृष्ट डिफेन्डर र नवीन चोङबाङ उत्कृष्ट प्रशिक्षक बने ।

चारपानेका सुदीप श्रेष्ठ उत्कृष्ट मिडफिल्डर घोषित भए । यी पाँचै विधाका विजेताले जनही पाँच हजार रुपैयाँ पुरस्कार पाए । प्रतियोगिताभरकै सर्वोत्कृष्ट खेलाडी आयोजकका प्रविण राई घोषित भए । उनले सात हजार ५०० रुपैयाँ प्राप्त गरे ।

विजेता तथा उपविजेता टोली र उत्कृष्ट खेलाडीलाई अर्जुनधारा नगरपालिकाका प्रमुख बलदेवसिंह गोम्देनलगायतले पुरस्कार वितरण गरे ।

प्रतियोगितामा आयोजक र चारपाने युनाइटेडसहित बौद्ध भेट्रान्स पाँचथर, मेची भेट्रान्स काँकडभिट्टा, ज्ञानेचोक भेट्रान्स, चन्द्रगढी भेट्रान्स, झिलझिले भेट्रान्स र बिर्तामोड भेट्रान्स गरी आठ टोली सहभागी थिए ।

प्रकाशित मिति : २५ आश्विन २०८३, आइतबार ००:००  ७ : ०८ बजे