काठमाडौं– पूर्वप्रधानन्यायाधीश चोलेन्द्रशमशेर जबरालाई प्रहरीले मध्यरातमा महाराजगञ्जस्थित निवासबाट नियन्त्रणमा लिएर प्रहरी कार्यालय पुर्याएको घटनाको नेकपा एमालेका उपमहासचिव योगेश भट्टराईले विरोध गरेका छन् । उनले जबराको गिरफ्तारीलाई ‘गैरकानुनी र गैरन्यायिक’ भन्दै सरकारलाई यस्ता कदमबाट पछि हट्न चेतावनी दिएका छन् ।
भट्टराईले आइतबार बिहान सामाजिक सञ्जालमार्फत प्रतिक्रिया जनाउँदै सुरक्षा चुनौती रहेको भए राज्यले सुरक्षा प्रदान गर्नुपर्ने बताएका छन् । तर, सुरक्षा चुनौतीलाई आधार बनाएर पूर्वप्रधानन्यायाधीशलाई मध्यरातमा गिरफ्तार गर्नु कुनै पनि बहानामा उचित नहुने उनको भनाइ छ ।
‘सुरक्षा चुनौती रहेछ भने सुरक्षा दिनु राज्यको दायित्व हो, तर मध्यरातमा गरिएको गिरफ्तारी कुनै बहानाबाजीबाट पनि उचित मान्न सकिँदैन,’ भट्टराईले भनेका छन्, ‘पूर्वप्रधानन्यायाधीश चोलेन्द्रशम्शेर जबराको गिरफ्तारी गैरकानुनी र गैरन्यायिक छ ।’
उनले सरकारलाई स्वेच्छाचारी ढंगले अघि नबढ्नसमेत चेतावनी दिएका छन् । ‘सरकार यस्ता उटपट्याङ कामबाट पछि हट्नै पर्दछ,’ भट्टराईले लेखेका छन् ।
जबरालाई शनिबार राति करिब साढे १२ बजे काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयबाट डीएसपीको नेतृत्वमा गएको प्रहरी टोलीले महाराजगञ्जस्थित निवासबाट नियन्त्रणमा लिएको थियो ।
प्रहरीका अनुसार जबरालाई नियन्त्रणमा लिनुअघि कुनै अदालतबाट पक्राउ पुर्जी लिइएको थिएन । उनलाई राति करिब २ बजे टेकुस्थित अपराध अनुसन्धान कार्यालय पुर्याएर एसएसपी सन्तोष खड्काको कार्यकक्षमा राखिएको थियो ।
अपराध अनुसन्धान कार्यालयका एसएसपी खड्काका अनुसार जबरामाथि ‘सुरक्षा थ्रेट’ रहेको सूचना आएपछि सम्भावित भौतिक आक्रमणबाट जोगाउन उनलाई कार्यालयमा ल्याइएको हो । प्रहरीले राति नै केही हुनसक्ने सूचना पाएपछि सुरक्षा प्रयोजनका लागि कार्यालयमा राखिएको जनाएको छ ।



















