२ भाद्र २०८३, मंगलबार | Tue Aug 18 2026

काँकडभिट्टामा ‘न्यू होटल हिकोला हेरिटेज’ सञ्चालनमा रोक लगाउन उद्योग विभागको आदेश



बिर्तामोड-उद्योग विभागले अर्काको ट्रेडमार्क अनधिकृत रूपमा प्रयोग गरेको भन्दै ‘न्यू होटल हिकोला हेरिटेज’का नाममा त्यस्तो कार्य रोक्न अन्तरकालीन आदेश जारी गरेको छ ।

झापाको बिर्तामोड-४ स्थित होटल हिकोला हेरिटेज प्रालिले दिएको उजुरीका आधारमा विभागले काँकडभिट्टामा सञ्चालनमा रहेको ‘न्यू होटल हिकोला हेरिटेज’का नाममा आदेश जारी गरेको हो ।

आदेश कार्यान्वयनका लागि विभागले जिल्ला प्रशासन कार्यालय झापालाई समेत पत्राचार गरेको छ । होटल हिकोला हेरिटेज प्रालिले आफ्नो स्थापित व्यवसायिक नाम र ट्रेडमार्कमा ‘न्यू’ शब्द थपेर होटल सञ्चालन गरिएको भन्दै त्यसलाई रोक्न उद्योग विभागमा उजुरी दिएको थियो ।

विभागले मुलुकी देवानी कार्यविधि संहिता, २०७४ को दफा १५६ बमोजिम साउन २६ गते अन्तरकालीन आदेश जारी गरेको जनाएको छ । विभागका कानुन अधिकृत प्रमोद बिकले अन्तरकालीन आदेश कार्यान्वयनका लागि जिल्ला प्रशासन कार्यालय झापालाई पत्र पठाइएको जानकारी दिए ।

होटल हिकोला हेरिटेजले व्यवसाय विस्तार गर्ने क्रममा काँकडभिट्टामा घर भाडामा लिएर करिब अढाई करोड रुपैयाँ लगानीमा होटल सञ्चालनमा ल्याएको थियो । कम्पनीका अनुसार घरधनीसँग भएको व्यवसायिक सम्झौताअनुसार १५ वर्षका लागि सञ्चालन गर्ने सहमति थियो ।

तर, भाडा विवाद उत्पन्न भएपछि घरधनीले होटलमा हस्तक्षेप गरी नियन्त्रणमा लिएको होटल सञ्चालक पक्षको आरोप छ । होटलका सञ्चालक गौरव श्रेष्ठ र व्यवस्थापक विवेक बराललाई काँकडभिट्टास्थित होटलबाट नियन्त्रणमा लिएर कुटपिट गर्दै निकालिएको थियो ।

होटल कब्जामा लिएपछि घरधनी पक्षले स्थापित ‘हिकोला हेरिटेज’ ब्रान्डमा ‘न्यू’ शब्द थपेर होटल सञ्चालन गर्दै आएको होटल सञ्चालक देवीभक्त श्रेष्ठले बताए । उनका अनुसार आफ्नो लगानी, व्यवसायिक प्रतिष्ठा र ब्रान्डको अनधिकृत प्रयोग रोक्न उद्योग विभागमा उजुरी गरिएको थियो ।

“घरधनीले होटल कब्जामा लिएर तीन वर्षदेखि हाम्रो स्थापित नाम र ब्रान्डमा ‘न्यू’ शब्द थपेर व्यवसाय सञ्चालन गर्दै आएका छन्,” श्रेष्ठले भने, “आफ्नो व्यवसायिक नाम, लगानी र प्रतिष्ठाको संरक्षणका लागि कानुनी उपचार खोजेका हौँ ।”

होटल सञ्चालक पक्षले घरधनीले होटल कब्जा गरेको र ट्रेडमार्कको अनधिकृत प्रयोग गरेको विषयलाई अलग-अलग कानुनी प्रक्रिया अघि बढाएको जनाएको छ । घरभाडा विवादसम्बन्धी विषय अदालतमा विचाराधीन रहेको छ ।

सञ्चालक श्रेष्ठले अदालतबाट आफूले न्याय पाउने विश्वास व्यक्त गर्दै आफूले कसैलाई अन्याय नगरेको बताएका छन् ।

प्रकाशित मिति : २ भाद्र २०८३, मंगलबार ००:००  ४ : ५८ बजे