झापा– स्थानीय तहको विकास, सुशासन र सार्वजनिक सेवा प्रवाहलाई प्रभावकारी बनाउन पत्रकारिता अझ खोजमूलक, तथ्यपरक र जवाफदेही हुनुपर्नेमा झापाको हल्दिबारीमा आयोजित अन्तरक्रियाका सहभागीले जोड दिएका छन् ।
ग्रामीण प्रेस क्लब झापाको आयोजना तथा हल्दिबारी गाउँपालिकाको सहकार्यमा शनिबार हल्दिबारी-२ स्थित नेपाल रेडक्रस सोसाइटीको सभाहलमा आयोजित ‘स्थानीय तहको समग्र विकासमा पत्रकारिताको भूमिका’ विषयक अन्तरक्रियामा सहभागीले स्थानीय मुद्दालाई प्राथमिकतामा राखेर पत्रकारिताले निरन्तर खबरदारी गर्नुपर्ने बताएका हुन् ।
कार्यक्रममा हल्दिबारी गाउँपालिकाका अध्यक्ष रविन्द्र लिङ्देनले पत्रकारिता निष्पक्ष र तथ्यमा आधारित हुनुपर्ने बताए । पत्रकार समाजको ऐना भएकाले सञ्चारमाध्यमले उठाउने विषयले समाजमा सकारात्मक परिवर्तन ल्याउन सक्ने उनको भनाइ थियो ।
‘पत्रकारिताले सही सूचना प्रवाहसँगै समाज सुधारको भूमिका पनि निर्वाह गर्नुपर्छ,’ लिङ्देनले भने, ‘हल्दिबारीका पत्रकारले गरेका सकारात्मक कामलाई पालिकाले सहकार्य र क्षमता विकासका माध्यमबाट प्रोत्साहन गर्नेछ।’
स्थानीय सरकारका काममा निगरानी, सार्वजनिक सेवाको अवस्था, विकास निर्माण, शिक्षा, स्वास्थ्य, कृषि, पर्यटन, रोजगारी तथा सामाजिक क्षेत्रका मुद्दालाई पत्रकारिताले प्राथमिकताका साथ उठाउनुपर्ने सहभागीको भनाइ थियो । उनीहरूले पत्रकारिता सूचना दिने माध्यममा मात्र सीमित नभई नागरिक र सरकारबीचको संवादको पुल बन्नुपर्ने बताए ।
अन्तरक्रियामा नेपाली कांग्रेस हल्दिबारीका सभापति गंगा प्रसाईं, श्रम संस्कृति पार्टीका अध्यक्ष सुमन नेम्वाङ, नेपाली कम्युनिष्ट पार्टीका संयोजक खगेन राजवंशी, एकता साकोसका अध्यक्ष हरिकृष्ण अधिकारी, साना किसान चिया उत्पादक सहकारी संस्थाका अध्यक्ष हर्क तामाङ र साना किसान जलथलकी अध्यक्ष खेसकुमारी बनले स्थानीय क्षेत्रका समस्या र विकासका सम्भावनाबारे धारणा राखेका थिए ।
त्यस्तै हल्दिबारी माध्यमिक विद्यालयका प्रधानाध्यापक टंक पाख्रिन, पाथीभरा सिंहकाली धार्मिक तथा पर्यटकीय विकास समितिका अध्यक्ष जय पोखरेल, लक्ष्मी माध्यमिक विद्यालयका प्रधानाध्यापक कृष्ण दाहाल, कल्याण साकोसका प्रतिनिधि सन्तोष मेचे, जलथल खानेपानीका प्रतिनिधि बलराम गिरी, नेपाल रेडक्रस सोसाइटी हल्दिबारी पालिका शाखाका संयोजक रेम खरेल, आदिवासी जनजाति महासंघ हल्दिबारीका अध्यक्ष अर्जुन राई र हल्दिबारी अपाङ्गता सबलीकरण संस्थाका अध्यक्ष लालबहादुर कन्दङ्वालगायतले आ-आफ्ना क्षेत्रका समस्या र सुझाव प्रस्तुत गरेका थिए ।
सहभागीका प्रश्नको जवाफ दिँदै गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत मानबहादुर वन (महेन्द्र) ले सकारात्मक कामको प्रचारसँगै स्थानीय तहका कमजोरी औंल्याएर सुधारका लागि खबरदारी गर्ने पत्रकारितालाई पालिकाले सम्मानपूर्वक ग्रहण गर्ने बताए ।
नेपाल पत्रकार महासंघ झापाका अध्यक्ष एकराज गिरीले स्थानीय पत्रकारितालाई व्यावसायिक र तथ्यमा आधारित बनाउनुपर्नेमा जोड दिए । स्थानीय मुद्दा ओझेलमा पर्दा त्यसको प्रत्यक्ष असर नागरिकमा पर्ने भएकाले पत्रकारले स्थानीय सरोकारका विषयलाई प्राथमिकतामा राख्नुपर्ने उनको भनाइ थियो ।
ग्रामीण प्रेस क्लब झापाका अध्यक्ष नेत्रविक्रम बिमलीको अध्यक्षतामा भएको कार्यक्रमको सञ्चालन क्लबका महासचिव हैकम घिसिङले गरेका थिए । अन्तरक्रिया सत्रको सहजीकरण लोकेन्द्र थपलियाले गरेका थिए ।
अन्तरक्रियाले स्थानीय तह, पत्रकार, नागरिक समाज र सरोकारवाला निकायबीच नियमित संवाद र सहकार्यको आवश्यकता औंल्याउँदै स्थानीय विकास र सुशासनका मुद्दामा पत्रकारिताको निगरानी भूमिकालाई थप प्रभावकारी बनाउने आधार तय गरेको आयोजकको भनाइ छ ।


















