इलाम– नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली लोकतान्त्रिक आदिवासी जनजाति महासंघ केन्द्रीय कमिटीको चौथो पूर्ण बैठकलाई सम्बोधन गर्न शनिबार इलामको फिक्कल पुगेका छन् ।
फागुन २१ गतेको निर्वाचनपछि ओली पहिलोपटक गृह जिल्ला झापा हुँदै इलाम पुगेका हुन् ।
ओलीलाई भद्रपुर विमानस्थलमा एमाले नेता-कार्यकर्ताले भव्य स्वागत गरेका थिए । विमानस्थलमा ओलीको पक्षमा ‘केपी ओली, वी लभ यु’ लगायतका नारा लगाइएको थियो ।
ओलीको आगमनलाई लिएर विमानस्थलमा सुरक्षा व्यवस्था भने कडा पारिएको थियो । प्रहरीले विमानस्थल परिसरमा स्वागतका लागि सीमित नेता-कार्यकर्तालाई मात्रै प्रवेश दिएको थियो ।
ठूलो संख्यामा पुगेका कार्यकर्तालाई प्रवेशमा रोक लगाएपछि एमाले नेता-कार्यकर्ताले प्रहरीसमक्ष असन्तुष्टि जनाएका थिए ।
स्वागतका लागि विमानस्थल पुगेका नेता-कार्यकर्तालाई प्रवेशमा कडाइ गरिएपछि केही समय विमानस्थल परिसरमा असहज वातावरणसमेत बनेको थियो ।
ओलीलाई स्वागत गर्न पुगेका कार्यकर्ताले आफूहरूलाई रोकिएको भन्दै प्रहरीको व्यवस्थापनप्रति प्रश्न उठाएका थिए ।
भद्रपुरबाट ओली सिधै इलामको फिक्कल पुगेका हुन् । फिक्कलमा हुने महासंघको बैठकमा ओलीले आदिवासी जनजातिका सवाल, पार्टीको आगामी राजनीतिक रणनीति तथा समसामयिक विषयमा धारणा राख्ने एमालेले जनाएको छ ।
निर्वाचनपछि पहिलोपटक गृह जिल्ला पुगेका ओलीको झापा आगमनलाई एमाले नेता-कार्यकर्ताले शक्ति प्रदर्शनका रूपमा समेत प्रस्तुत गरेका छन् । विमानस्थलदेखि फिक्कलसम्म ओलीको स्वागतमा नेता-कार्यकर्ताको सक्रियता देखिएको छ ।


















