विराटनगर-सत्ता सहकार्यमा सहमत भएका नेकपा एमाले र नेपाली कम्युनिस्ट पार्टी नेकपाबीच कोशी प्रदेश सरकारमा मन्त्रालय बाँडफाँटको विषय पेचिलो बनेको छ । नौ मन्त्रालय रहेको कोशीमा नेकपाले चार मन्त्रालय दाबी गरेपछि एमालेले तीन मन्त्रालयभन्दा बढी दिन नसकिने अडान राखेको छ ।
नेकपा संसदीय दलका नेता इन्द्रबहादुर आङ्बोले सरकारमा चार मन्त्रालय पाउनुपर्ने पार्टीको दाबी रहेको बताए । ‘हामीले चारवटा मन्त्रालय भनेका छौं,’ उनले भने, ‘औपचारिक छलफल भने अघि बढेको छैन ।’
हाल प्रदेश सरकारमा नेपाली कांग्रेसका चार मन्त्री र एक राज्यमन्त्री छन् । कांग्रेसले पाउँदै आएको हिस्साकै आधारमा आफ्नो दलले पनि चार मन्त्रालय पाउनुपर्ने नेकपाको दाबी छ ।
सत्ता साझेदारीसम्बन्धी छलफलमा नेकपाले आफ्नो अडान राख्ने आङ्बोले बताए । बैठकमा सरकारको न्यूनतम साझा कार्यक्रम, चालु बजेटको पुनरावलोकनलगायत विषयमा समेत छलफल हुने उनले जानकारी दिए ।
तर, एमाले कोशी प्रदेशमा ६-३ को अनुपातमा सत्ता साझेदारी गर्ने पक्षमा छ। एमाले सचिव तथा कोशी प्रदेश इन्चार्ज शेरधन राईले नेकपालाई तीन मन्त्रालय दिन सकिने बताएका छन् ।
दुई दलबीच सत्ता सहकार्यको सहमति भए पनि मन्त्रालयको संख्या र बजेट पुनरावलोकनलगायत विषयमा समझदारी जुट्न बाँकी रहेकाले कोशी सरकारको सत्ता समीकरण अझै टुंगो लागिसकेको छैन ।


















