भद्रपुर– नेपाली कम्युनिस्ट पार्टी नेकपा झापाले भद्रपुर नगरपालिका-२ महारानी चोककी इन्द्रमाया खातीका लागि तीनकोठे घर निर्माण गरी हस्तान्तरण गरेको छ ।
जिल्लाका १५ वटै स्थानीय तहमा विपन्न नागरिकका लागि घर निर्माण गर्ने अभियानअन्तर्गत निर्माण गरिएको घरको चाबी नेकपा कोशी प्रदेश संसदीय दलका नेता इन्द्र आङ्बोले खातीलाई हस्तान्तरण गरे ।
३ लाख ८१ हजार रुपैयाँको लागतमा भान्सासहितको घर निर्माण गरिएको घर निर्माण संयोजक तथा नेकपा केन्द्रीय सदस्य बासु दुलालले जानकारी दिए । उनका अनुसार दोस्रो घर निर्माणका लागि लाभग्राही छनोट भइसकेको छ ।
घर हस्तान्तरण कार्यक्रममा आङ्बोले सुरक्षित आवास नागरिकको मौलिक हक भएकाले राज्यले विपन्न नागरिकको आवास सुनिश्चित गर्नुपर्ने बताए ।
नेकपा केन्द्रीय प्रचार विभाग उपप्रमुख अशेष घिमिरेले अभियानले झापाबाट समाजवादउन्मुख कार्यक्रमलाई व्यवहारमा अघि बढाउने सन्देश दिएको बताए ।
घर निर्माणमा सहयोग गर्ने दातालाई कार्यक्रममा सम्मान गरिएको थियो । पार्टी सदस्यबाटै सहयोग संकलन गरी १५ वटै स्थानीय तहमा घर निर्माण अभियानलाई निरन्तरता दिने नेकपाले जनाएको छ ।


















