झापा-साइबर अपराध मुद्दामा पक्राउ पुर्जी जारी भएको ३६ दिन बितिसक्दा पनि आरोपी पक्राउ नपरेपछि नेपाल पत्रकार महासंघ झापा शाखाले जिल्ला प्रशासन कार्यालयमार्फत सरकारलाई एक साताको अल्टिमेटम दिएको छ ।
महासंघका उपाध्यक्ष सुब्रत न्यौपानेको नेतृत्वमा मंगलबार प्रमुख जिल्ला अधिकारी शिवराम गेलाललाई ज्ञापनपत्र बुझाउँदै एक साताभित्र हल्दिबारी गाउँपालिका-१ का नितेश ओली (नवराज) लाई पक्राउ गरी कानुनी दायरामा ल्याउन माग गरिएको हो ।
ज्ञापनपत्र गृह मन्त्रालय तथा महासंघका केन्द्रीय र प्रदेश समितिलाई पनि बोधार्थ पठाइएको छ ।
महासंघले २०८३ असार १५ गते जिल्ला प्रहरी कार्यालय झापामा साइबर अपराधको जाहेरी दिएपछि सोही दिन जिल्ला अदालतबाट ओलीविरुद्ध पक्राउ पुर्जी जारी भएको थियो । तर, एक महिनाभन्दा बढी समय बित्दासमेत उनी पक्राउ नपरेको भन्दै महासंघले प्रहरीको भूमिकामाथि गम्भीर प्रश्न उठाएको छ ।
महासंघका अनुसार फरार रहेका ओलीले फेसबुक, म्यासेन्जर र ह्वाट्सएपमार्फत महासंघ, अध्यक्ष तथा पदाधिकारीविरुद्ध निरन्तर भ्रामक सामग्री पोस्ट गर्दै आएका छन् । यति हुँदाहुँदै पनि प्रहरीले पक्राउ गर्न नसक्नुले दण्डहीनतालाई प्रश्रय दिएको महासंघको आरोप छ ।
पत्रकारको सुरक्षामा चुनौती बढेको उल्लेख गर्दै महासंघले विभिन्न निकायको ध्यानाकर्षण गराइसकेको र अब पनि एक साताभित्र पक्राउ नभए थप सशक्त आन्दोलनका कार्यक्रम घोषणा गर्ने चेतावनी दिएको छ ।
महासंघले जारी गरेको विज्ञप्ति



















