१८ श्रावण २०८३, सोमबार | Tue Aug 4 2026

अन्तर्राष्ट्रिय बजारमा नेपाली छुर्पीको बढ्दो माग



काठमाडौँ-अन्तर्राष्ट्रिय बजारमा नेपाली छुर्पीको बढ्दो मागसँगै पूर्वी नाका मेची भन्सार कार्यालयबाट हुने निर्यातले नयाँ उचाइ छोएको छ । गत आर्थिक वर्ष २०८२/८३ मा मेची नाका हुँदै एक अर्ब ७९ करोड २८ लाख १८ हजार रुपैयाँ बराबरको छुर्पी निर्यात भएको छ, जुन अघिल्लो वर्षको तुलनामा करिब २७ प्रतिशत बढी हो ।

मेची भन्सार कार्यालयका अनुसार आर्थिक वर्ष २०८१/८२ मा एक अर्ब ४१ करोड ७१ लाख चार हजार रुपैयाँ बराबरको छुर्पी निर्यात भएको थियो । एक वर्षमै निर्यात मूल्यमा ३७ करोड ५७ लाख रुपैयाँभन्दा बढीको वृद्धि भएको तथ्याङ्कले देखाएको छ ।

कार्यालयका सूचना अधिकारी मांकल राईका अनुसार पछिल्ला पाँच वर्षदेखि छुर्पी निर्यात निरन्तर बढ्दो क्रममा छ । पूर्वी पहाडी जिल्ला इलाम, पाँचथर र ताप्लेजुङ मा उत्पादन हुने छुर्पी अहिले अन्तर्राष्ट्रिय बजारमा उच्च माग भएको नेपाली निर्यातजन्य वस्तुका रूपमा स्थापित हुँदै गएको उनले बताए ।

विशेषगरी अमेरिका, युरोप लगायतका मुलुकमा कुकुर र बिरालोका लागि प्राकृतिक ‘च्यु–ट्रिट’ (Chew Treat) का रूपमा नेपाली छुर्पीको माग तीव्र रूपमा बढेको छ । रसायनरहित, लामोसमय टिक्ने र पोषणयुक्त मानिने भएकाले विदेशी बजारमा यसको लोकप्रियता बढ्दै गएको व्यवसायीहरू बताउँछन् ।

छुर्पी निर्यातमा आएको वृद्धिले पूर्वी पहाडका दुग्ध किसान, साना उद्योग र निर्यात व्यवसायी उत्साहित भएका छन्। परम्परागत दुग्धजन्य उत्पादनले अन्तर्राष्ट्रिय बजारमा स्थान बनाउँदै जाँदा ग्रामीण अर्थतन्त्रलाई समेत टेवा पुग्ने अपेक्षा गरिएको छ।

प्रकाशित मिति : १८ श्रावण २०८३, सोमबार ००:००  ३ : १३ बजे